राजधानीमा चुनावले नछोएको व्यवसाय, ‘खानका लागि केही काम त गर्नै पर्‍याे’

राजधानीमा चुनावले नछोएको व्यवसाय, ‘खानका लागि केही काम त गर्नै पर्‍याे’


स्थानीय तहको निर्वाचन हुन एक दिन बाँकी छ। यो समयमा घर जानेको संख्या पनि दिन प्रतिदिन बढ्दै गएको छ। अहिले चुनावको लामो प्रचारप्रसारपछि मौन अवधि जारी छ । मौन अवधि सुरु भएसँगै मतदानको तयारीदेखि विभिन्न कारण सहरमा भएकाहरु पनि गाउँघर गइसकेका छन् । 

तर, दैनिक ज्यालादारी/मजदुरी गरेर जीवन चलाउनेहरुलाई भने चुनावी माहोलले छोएको छैन। मजदुरी तथा बिहान बेलुका छाक टार्नका लागि काम गर्नेहरुलाई भने पहिलेको जस्तै कामको चटारो छ । कसरी खाने भन्ने चिन्ता छ।

उनीहरुलाई राजनीतिक माहोलभन्दा पनि  बिहान बेलुका पेट कसरी पाल्ने चिन्ता छ। यस्ता चुनावी माहोलको वास्ता नभएकी एक हुन् सवितादेवी गुप्ता । 

झापा घर भएकी सविता सानै उमेरमा काठमाडौँ आएकी थिइन् । उनको विवाह पनि सानै उमेरमा भयो । अहिले उनी घर जानुको साटो कालीमाटीबाट बबरमहलमा आउँछिन् दैनिकी चलाउनको लागि सलाद बेच्न । योभन्दा अगाडि उनले भोट हालेकी थिइन् तर यो पटक घर जान पाइनन् । भन्छिन्, ‘यो भन्दा अगाडि त हामीले सधैं भोट हालेको तर यो पालि चाहेर पनि घर जान सकेनौँ । खानका लागि काम गर्नै पर्यो । घर जानै पाएनाैं । हिजै गाडी छुट्यो।” 

उनी छोरालाई पढाउन र परिवार पाल्नको लागि बिहान १० बजे त्यहाँ आउँछिन् र बेलुका ५ बजे जान्छिन् । उनका श्रीमान् पनि छेउमा बसेर उनलाई सलाद बेच्न सघाइरहेका हुन्छन् । उनीहरुको पेशा नै यही हो, जाडो होस् या गर्मी जुन समयमा पनि उनीहरु यही काम गरेर गुजारा गरिरहेका छन् । उनीहरुलाई के चुनाव के चाडपर्व केही मतलव छैन । भन्छिन्, “हामी सधैं यही काम गर्ने हो । दिनमा ६/७ सय कमाई हुन्छ । अहिले त भएकै छैन मान्छे नै छैनन् । हामीलाई त भरे के खाने भन्ने चिन्ता हुन्छ । जुन नेताले जिते पनि केही छैन । तर भोट हाल्न घर चाहिँ जान मन थियो, गाडी छुट्यो । यो पालि जानै पाइएन ।”

जाडो होस् या गर्मी जुन समयमा पनि उनीहरु यही काम गरेर गुजारा गरिरहेका छन् । उनीहरुलाई के चुनाव के चाडपर्व केही मतलव छैन ।

त्यस्तै, धरान घर भएका अर्का व्यक्ति हुन् सन्तोष कार्की । उनीलाई पनि चुनावको केही मतलव छैन । उनी आफ्नै सुरमा कुल्फी बेचिरहेका छन् बानेश्वरको चोकदेखि गल्लि गल्लिमा । उनले कुल्फी बेच्न थालेको ५ दिन मात्र भयो । पहिला पेन्टिङको काम गर्ने उनले चुनावले काम नै बन्द भएपछि घर जानुको सट्टा काठमाडौँमै बस्न अर्कै बाटो रोजे अनि काम गर्न थाले । उनी भन्छन्,“ यो राजनीतिमा मलाई केही चासो छैन। जसले जिते पनि आफ्नो दुःख आफैंसँग छ। पहिला अर्कै काम गर्थें। 

अनि साहुहरु पनि गाउँघरमा जान थाले । पैसा पनि दिँदैन थिए । अनि काम पनि आउन छाड्यो। घर गएर चुनाव प्रसारमा हिँड्नुभन्दा बरु यहीँ बसेर काम नआन्जेसम्म अर्कै काम गर्छु भनेर यो कामको बाटो लागेको हुँ । खानको लागि केही काम त गर्नै पर्यो । त्यसैले यो काम गरिरहेको छु।”

Logo