सरकारले स्थानीय तहको निर्वाचनमा आमनागरिकहरुको भुमिका महत्वपूर्ण हुने भएकाले भयरहीत रुपमा मतदान गर्न आग्रह गरेको छ । भोलि हुने स्थानीय तह सदस्य निर्वाचनका लागि भोलि हुने मतदानमा सरकारी स्तरबाट विभिन्न श्रोत, साधनहरु परिचालित भइसकेको र स्वयं मतदाताहरुको भुमिका पनि महत्वपूर्ण हुने भएकोले संयमित भएर मतदान गर्न सरकारले भनेको हो । एकीकृत सुरक्षा योजना अन्तर्गत सरकारले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागलाई निर्वाचनमा केन्द्रित गरेर सुरक्षा व्यवस्थापन चुस्तदुरुस्त बनाएको बताएको छ ।
गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलले एकीकृत सुरक्षा योजना अन्तर्गत सरकारले प्रत्येक जिल्लामा सुरक्षा योजना बनाएर त्यसै योजना अनुसार सम्पूर्ण सुरक्षा परिचालित गरेको बताए । प्रवक्ता पोखरेलले अहिले राज्य नै निर्वाचनमय भएकोले निर्वाचन शन्तिपूर्णरुपमा सम्पन्न हुने विश्वास व्यक्त गरे ।
प्रवक्ता पोखरेलले भने, ‘आम नागरिक, नागरिक समाजले पनि सुरक्षामा चासो राखेर कतै निर्वाचनलाई बिथोलिने काम गर्नुहुँदैन । हामी सबैले निर्वाचनलाई सघाउनुपर्छ भनेर लाग्नुभएको हुँदा अहिले राज्य नै निर्वाचनमय भएको छ । निर्वाचन शन्तिपूर्णरुपमा सम्पन्न हुनेछ भन्ने विश्वास गर्दछु ।’
प्रवक्ता पोखरेलले पछिल्लो समय छिमेकी देश भारतमा कोरोना संक्रमणको दर बढिरहेकोले मतदानका समय पनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरे । विदेशबाट स्थानीय तहको निर्वाचका लागि मतदान गर्न आउने नागरिकहरुले पनि स्वास्थ्यका मापदण्डको पूर्ण पालना गरेर थप जोखिम हुनबाट बचाउन उनको अनुरोध छ ।
सरकारले कोरोनाको जोखिम कम गर्न सीमा नाकाहरुमा स्वास्थ्य मन्त्रालय र प्रदेश सरकारसँगको समन्वयमा हेल्थ डेस्कहरु राखेको जानकारी दिँदै पोखरेलले कोरोनाको जोखिम कम गर्न सरकारले स्वास्थ्य मन्त्रालयसँग समन्वय र छलफल गरिरहेको पनि स्पष्ट पारे । प्रवक्ता पोखरेलले भने, ‘हामीले यसबारेमा स्वास्थ्य मन्त्रालयसँग थप के गर्नुपर्छ सरसल्लाह लिइरहेका छौँ । उहाँहरुले पनि यसलाई व्यवस्थापन गर्नुपर्छ भनेर जानुभएको छ । त्यसैले भोलिको दिनमा स्वास्थ्य मन्त्रालयले यसलाई व्यवस्थापन गर्नेछ ।’
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले स्थानीय निर्वाचनमा भीड बढ्ने भएकाले स्वास्थ्य सावधानी अपनाएर निर्वाचनमा सहभागी हुन अपिल गरे । भारतमा कोरोना संक्रमण बढेको भन्दै नेपाल आउने नागरिकहरु र चुनावमा सहभागी हुने नागरिकहरुले स्वास्थ्यप्रति संवेदनशील हुन जरुरी रहेको बताउँदै सहप्रवक्ता अधिकारीले कोरोनाको सम्भावित जोखिमलाई कम गर्न सरकारले भारतसँगको सीमा नाकाहरुमा हेल्थ डेस्क राखेको र आवतजावत तत्कालका लागि बन्द गरिएको बताए ।
सहप्रवक्ता अधिकारीले विदेशबाट आउने नागरिकहरुले ७ दिन अनिवार्य क्वारेन्टाइनमा बस्न, मास्क लगाउन, सामाजिक दूरी कायम गर्न र सम्पूर्ण जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्नुपर्ने यसअघि लगाएको नियम प्रभावकारी रहेको दाबी पनि गरे । स्वास्थ्य मन्त्रालयले यस सम्बन्धी विभिन्न कार्ययोजना बनाइ सम्बन्धित निकायसँग समन्वय गरिरहेको उनको भनाइ छ । सहप्रवक्ता अधिकारीले जनस्वास्थ्यका मापदण्ड सुनिश्चित गर्न हरेक मतदान केन्द्रमा अनिवार्य एक जना स्वास्थ्यकर्मी राख्ने प्रावधान मिलाएको जानकारी दिए । उनले स्वास्थ्य मन्त्रालयले जोखिमको आँकलन, निगरानी र संवेदनशीलताका आधारमा प्राविधिक विश्लेषण गर्दै सम्बन्धित सबै निकायहरुसँग समन्वय गरी आवश्यक रणनीति बनाएको बताए ।
सहप्रवक्ता अधिकारीले भने, ‘पछिल्लो समय संक्रमण पुष्टि हुने संख्या कम देखिएपनि संक्रमण फैलिन सक्ने जोखिम एकदमै बढेर गएको छ । मास्क नलगाएको, कोरोनाको प्रोटोकल पालना नगरेको र संक्रमण सकियो भन्ने खालको व्यवहार गर्न थालेकोले बढी जोखिम छ । सबैलाई अलि बढी सजग भइदिन र संवेदनशील भएर व्यवहार गरिदिन अनुरोध छ । सबैले आफ्नो ठाउँबाट गर्नसक्ने सहयोग गर्नसके सम्भावित जोखिमलाई टार्न सक्छौँ ।’
सहप्रवक्ता अधिकारीले स्थानीय निर्वाचनबाट कोरोनाको संक्रमण बढ्न सक्ने अवस्थालाई ध्यानमा राखेर सबै नागरिकहरु यसप्रति सजग भइ संवेदनशील व्यवहार गर्न पनि आग्रह पनि गरे ।





























प्रतिक्रिया