बालेनको हारजितको विषयमा सट्टेबाजी गर्ने दुई युवा पक्राउ

बालेनको हारजितको विषयमा सट्टेबाजी गर्ने दुई युवा पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौंका मेयरका उम्मेदवार बालेन शाहको हारजितको विषयमा सट्टेबाजी गर्ने दुई युवालाई प्रहरीले पक्राउ गरेको छ। बालेनको जित हुने वा हार हुने पक्षमा २८ किलोको खसी वा सो बराबरको रकमको बाजी राख्ने लिखित कागज गरेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङका विजय फुयाल र रमेश खड्कालाई पक्राउ गरेको हो।

हारजितलाई लिएर सट्टेबाजी गरेको कागजपत्र सार्वजनिक भएपछि सोमबार नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए। विजय ‘बालेनले जित्छ’ भन्ने पक्षमा छन् भने रमेश ‘हार्छ’ भन्ने पक्षमा छन् । 

बालेनले जितेमा रमेशले विजयलाई २८ किलोको खसी दिने र बालेनले हारेमा विजयले रमेशलाई २८ केजीको खसीको मासु बराबरको रकम दिने कागजमा उल्लेख छ। दुई युवाले अन्य तीन जनालाई रोहबर राखेर लिखित बाजी राखेको विषय सार्वजनिक भएको थियो। सो सट्टेबाजी सम्बन्धी कागज सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

जुनसुकै विषयमा बाजी राख्नु कानुन विपरीतको कार्य भएकाले उनीहरूलाई पक्राउ गरिएको डिएसपी लम्सालले बताए। ‘फलानोले जित्यो भने यति गर्छु, उति गर्छु भनेर बाजी राख्नु भनेको सट्टेवाजी नै हो । यो गर्न पाइँदैन,’ लम्सालले भने, ‘सामान्य हिसाबले हेर्दा यो सामान्य विषयवस्तु हो तर कानुनका हिसाबले हेर्दा यो अपराध हो।’

Skip This
Skip This
Logo