रामेछापका ८ स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले शुक्रबार शपथ ग्रहण गरेका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले मन्थली नगरपालिकामा आयोजना गरेको शपथ ग्रहण कार्यक्रममा जिल्लाका २ नगरपालिका र ६ वटा गाउँपालिका गरि आठ वटै स्थानीय तहका प्रमुख एवं अध्यक्षहरूले शपथग्रहण गरेका हुन्। मुख्य निर्वाचन अधिकृत दिवाकर भट्टको उपस्थितिमा रामेछापका जिल्ला न्यायाधीश बद्रीप्रसाद ओलीले प्रमुख तथा अध्यक्षहरूलाई शपथ गराएका हुन्।
शपथ ग्रहण गराउँदै ओलीले दलका प्रतिनिधिले राम्रो काम गर्न नसक्दा दर र आफ्नो पनि भविष्य बरबाद हुने भएकोले त्यसलाई ध्यानमा राखेर काम गर्न जनप्रतिनिधिलाई सुझाव दिए। मुख्य निर्वाचन अधिकृत भट्टले जनप्रतिनिधिले नमुना काम गरेको सुन्न र देख्न चाहेको बताए।
कार्यक्रममा बोल्दै नवनिर्वाचित मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले सबै दलसँग समन्वय गरि विकासको काममा लाग्ने प्रतिबद्धता व्यक्त गरे। रामेछापका आठ वटा स्थानीय तह मध्ये नेकपा एमालेबाट मन्थली नगरपालिका प्रमुखमा लब श्रेष्ठ, उमाकुण्ड गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवार र खाँडादेवी गाउँपालिका अध्यक्षमा ज्ञानकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।
नेपाली कांग्रेसबाट रामेछाप नगरपालिका प्रमुखमा लवश्री न्यौपाने, गोकुलगंगा गाउँपालिका अध्यक्षमा काजीबहादुर खड्का (दिनेश) र लिखु तामाकोसी गाउँपालिका अध्यक्षमा केशव महत निर्वाचित भएका छन्। माओवादी केन्द्रबाट दोरम्बा शैलुङ गाउँपालिका अध्यक्षमा मैनकुमार मोक्तान र सुनापति गाउँपालिका अध्यक्षमा ठुलोकान्छा तामाङ निर्वाचित भएका छन्।































प्रतिक्रिया