सप्तरीको छिन्नमस्ता गाउँपालिकामा २५ वर्षीय युवा अध्यक्ष पदमा निर्वाचित भएका छन् ।
जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख, गाउँपालिकाका निवर्तमान अध्यक्ष, तत्कालीन गाविसका पूर्वअध्यक्षलगायत १२ उम्मेदवारलाई पछि पार्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का विद्यानन्द चौधरी अध्यक्षमा निर्वाचित भएका हुन् ।
निर्वाचन अधिकृत सूर्यराज घिमिरेका अनुसार उनले दुई हजार ८९५ मत ल्याएका छन् । भने उनका निकटतम् प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा) का सत्यनारायण यादवले एक हजार ७६६ मत ल्याएका छन्। गाउँपालिकाका निवर्तमान अध्यक्ष सूर्यनारायण मण्डलले ८०० र जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख प्रभाकर यादवको ८९८ मत पाए ।
लोसपाका चौधरी लोकप्रिय मतका साथ अध्यक्षमा निर्वाचित भए पनि उपाध्यक्षसहित वडाध्यक्ष लोसपाले जित्न सकेन । उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) का राजुदेवी यादवले दुई हजार ४७२ मत प्राप्त गरेर निर्वाचित भए । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रमिलादेवी साहले एक हजार ५९५ मत पाइन् । एमालेकी ललितादेवी मेहताले एक हजार ५१३ मत ल्याउँदा लोसपाका उषाकुमारी मण्डल र जसपाका आशा साहले समान एक हजार ३८४ मत पाएका छन् ।
मण्डल २०७४ को स्थानीय तहको निर्वाचनमा एक हजार ७१० मत ल्याउँदै उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । कूल १७ हजार ७५७ मत रहेको छिन्नमस्तामा १३ हजार ७४४ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सात वडा रहेको गाउँपालिकामा एमाले र माओवादीले दुई–दुई, जसपा, नेकपा (एकीकृत समाजवादी) र जनमतले एक÷एक वडाध्यक्षमा जित हासिल गरेका छन् ।
जिल्लामा हालसम्म घोषित १६ स्थानीय तहको परिणामअनुसार कांग्रेसले पाँच नगरप्रमुखमा जित हासिल गरेको छ । जसपाले तीन, एमाले, लोसपा र जनमत पार्टीले दुई–दुई, एकीकृत समाजवादी र माओवादी केन्द्रले एक-एक स्थानीय तहको प्रमुखमा जित हासिल गरेका छन् । बाँकी जारी रहेको मतगणनामा रुपनी गाउँपालिकामा लोसपा र डाक्नेश्वरी नगरपालिकामा एमालेले अग्रता कायम राखेको छ ।































प्रतिक्रिया