प्रधानमन्त्रीलाई वर्षमानको प्रश्‍न: ‘कोभिडबाट थलिएको मुलुकमा ५० अर्बको चुनावबाट गर्न खोजेको के ?’

प्रधानमन्त्रीलाई वर्षमानको प्रश्‍न: ‘कोभिडबाट थलिएको मुलुकमा ५० अर्बको चुनावबाट गर्न खोजेको के ?’

केन्द्रबिन्दु
0
Shares

नेकपा प्रचण्ड समूहका स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले कोभिड–१९ महामारीले थिलथिलो भएको मुलुकको अर्ततन्त्रले मध्यावधि निर्वाचन धान्न नसक्ने बताएका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध तेह्रथुममा आइतबार आयोजित सभालाई सम्बोधन गर्दै पूर्वअर्थमन्त्रीसमेत रहेका पुनले निर्वाचनमा ५० अर्ब खर्च हुने ठोकुवा गरे । पाँच वर्षसम्म सरकार चलाउन जनताले दिएको अभिमतमाथि घात गर्दै राज्यकोषबाट ५० अर्ब खर्च गराएर निर्वाचन गराउनु लोकतन्त्र नभएको उनको भनाइ थियो ।

निर्वाचनका नाममा बर्बाद पार्ने ५० अर्ब रुपैयाँले ७७ वटै जिल्लामा एक एकवटा अस्पताल निर्माण गर्न सकिने वा सबै जनतालाई कोभिड–१९ विरुद्धको खोप निःशुल्क लगाउन सकिने पुनले सुझाव समेत दिए । ‘जनताले पाँच वर्ष चलाउन दिएको संसद विघटन गर्ने र ५० औं अर्ब खर्च गरेर चुनाव गर्छु भन्नु कुनै पनि तरिकाले लोकतन्त्रको पक्षमा छैन । प्रधानन्त्रीजी तपाईँ जनताप्रति जिम्मेवार हुनुहुन्छ ? ५० अर्ब खर्च गरेर गर्न खोजेको के हो ? कस्तो लोकतन्त्रको अभ्यास गर्न खोजेको हो ?’ पुनले सोधे ।

प्रधानमन्त्री ओलीले संविधान मिचेर जनताको अभिमतमाथि विश्वासघात गरी मुलुकलाई प्रतिगमन र अस्थिरताको बाटोमा हिंडाउन खोजेको भन्दै पुनले त्यसलाई सच्याउन प्रतिनिधिसभा पुनर्स्थापनाको विकल्प नरहेको पनि बताए ।

संविधानले सार्वभौमसत्ता र राजकीय अधिकार नेपाली जनतामा रहेको स्पष्ट गरेको भन्दै पुनले विगतमा राजामहाराजाले जसरी राजकीय अधिकार आफूमा रहेको दाबी गर्नुले प्रधानमन्त्री ओलीमा रहेको निरंकुश चरित्र प्रकट गरेको आरोप लगाए ।

‘प्रधानमन्त्रीका वकिलहरुले हुँदाहुँदा हिजो श्री ५ र श्री ३ मा भएको अधिकार प्रधानमन्त्रीसँग छ भनिरहेका छन् । यो निरंकुश, स्वेच्छाचारी र लोकतन्त्रविरोधी तर्क हो । लोकतन्त्रमा सार्वभौमसत्ता र कार्यकारी अधिकार जनतामा हुन्छ ’ पुनले भने ।

यस्तै उनले संविधान, लोकतन्त्र र जनमत बचाउन आफूहरु आन्दोलनमा रहेको भन्दै दमन र बल प्रयोगको धम्की नदिन प्रधानन्त्री ओली र गृहमन्त्री रामबहादुर थापालाई चेतावनी दिए । ‘तपाईँहरुले ७० वर्षसम्म जनताले रगत पसिना बगाएर ल्याएको लोकतन्त्रमाथि प्रहार गर्नुभएको छ । हामी क्रान्तिकारीहरुलाई बल प्रयोगको धम्की दिन बन्द गर्नुस्, हामी त्यस्ता धम्कीसँग डराउँदैनौँ’ पुनले भने ।

प्रधानमन्त्री र गृहमन्त्रीको धम्की र बल प्रयोगको भाषाप्रति पनि उनले कटाक्ष गरेका थिए । गृहमन्त्री थापाले आफूहरुको आमहड्तालका दिन २२ माघमा प्रचण्ड र माधव नेपाललाई सडकबाटै उठाउन प्रहरीलाई निर्देशन दिएको र २३ गते नारायणहिटी अगाडिबाट आन्दोलन गर्नेलाई चिडियाखानामा थुन्ने धम्की दिएको भन्दै पुनले त्यसको निन्दा गरे ।

सेना र प्रहरीको घेरामा बसेर धम्कीको भाषा बोल्न बन्द नगरे आन्दोलन सफल भएका दिन ओली र थापालाई सडकमा घिसार्दा कसैले सुरक्षा नगर्ने पनि पुनको चेतावनी थियो ।अन्नपूर्णबाट

Logo