भागरथी भट्टको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले बुधबार एक किशोरलाई सार्वजनिक गरेको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथीको बलात्कारपछि हत्या उनकै आफन्त पर्ने छिमेकी दिनेश भट्टबाट भएको प्रहरीले जनाएको छ । भागरथीको परिवारले भने दिनेश नै अभियुक्त हुन् कि होइनन् भन्नेमा शंका गरेको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीका अनुसार दिनेशले बलात्कार गरी हत्या गरेको स्वीकारेका छन् । दिनेश भागरथी पढ्ने सनातन धर्म माविमै कक्षा ११ का छात्र हुन् । उनलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय बैतडीमा भएको पत्रकार सम्मेलनमा डीआईजी सुवेदीले अनुसन्धानका क्रममा अभियुक्तको सुरुबाटै शंकास्पद व्यवहार, प्राविधिक रूपमा फेला परेका प्रमाण र प्रारम्भिक बयानका आधारमा निगरानीमा लिएको जानकारी गराए । प्रहरीले दिएको घटना विवरण अनुसार माघ २२ गते भागरथी घरबाट करिब १ घण्टा हिँडेर बिहान १० बजे विद्यालय पुगेकी थिइन् । त्यहाँबाट फर्केर दिउसो २ बजे नजिकैको खोचलेक बजार गइन् । उनका साथमा दुई सहपाठी पनि थिए । उनका साथी र अरू विद्यार्थी बजारमा कोही कपाल काट्न लागे, कोही किनमेल त कोही नास्ता गर्नतिर लागे । भागरथी भने घरतिर जाने खोचलेक–चडेपानी सडकतिर अगाडि बढिन् । खोचलेक बजारबाट उनको घर पुग्न १ घण्टाजति हिँड्नु पर्छ । बजारको पल्लो छेउको पसलमा उनले चाउचाउ किनिन् र खाँदै एक्लै घरतिर लागिन् ।
भागरथीलाई एकान्तमा भेट्न एक पिरियड पढाइ छाडेर १ः४५ मा सुटुक्क निक्लेका थिए, दिनेश । विद्यालयबाट केही साथीसँगै खोचलेक बजारसम्म आएका उनी भागरथीले झैं साथीहरूलाई बजारमै छोडी ‘काम छ’ भन्दै घरतिर लागेका थिए । बीच बाटोमा उनी भागरथीलाई उछिनेर अघि बढे । अलि पर लबलेकको जंगलमा पुगेपछि बाटो ढुकेर बसे । त्यहाँ नपुग्दै बलात्कारपछि हत्या गर्ने योजना बनाइसकेको बयान उनले प्रहरीसामु दिएका छन् । भागरथीलाई देख्नेबित्तिकै सडकको डिलमा पारेर दिनेशले आक्रमण गरे । उनी सडकबाट ३० मिटर तल खस्न पुगिन् । योजना अनुसारै बलात्कार र हत्या गरेर दिनेश त्यहाँबाट निस्किएको प्रहरीको बुझाइ छ ।
डीआईजी सुवेदीका अनुसार २ः४७ बजे भागरथीको मोबाइल अफ भएको थियो । ‘यसको अर्थ त्यो बीचको समयमा घटना भएको थियो,’ उनले भने, ‘भागरथीलाई यो सबबारे केही थाहा थिएन । एकै गाउँको भएकाले शंका पनि थिएन तर केटाको पूरा तयारी थियो ।’ उनका अनुसार भागरथीले प्रतिकारका लागि प्रयास गरे पनि विवाद नहुँदै सबै कुकृत्य भइसकेको देखिन्छ । ‘पहिले सडकबाट लडाएर वनमाराको झाडीमा फालेको अनि बलात्कार गरी दुवै हातले घाँटी थिचेर हत्या गरेको बयान अभियुक्तले दिएको छ,’ सुवेदीले भने, ‘भागरथीको मोबाइलको ब्याट्री निकालेर उनको शव नजिकै फालेको पनि अभियुक्तले स्वीकारेका छन् ।’ त्यसपछि सडकको बायाँ हुँदै ३:२० बजे दिनेश घटनास्थलबाट अगाडि पर्ने आफ्नो गाउँ चडेपानी जाने बाटोतर्फ लागेको डीआईजी सुवेदीले बताए ।
परिवारले शव बुझेनन्
मृतक भागरथीका काका शिवराज भट्टका अनुसार दिनेश भागरथीको भाइ नाता पर्छन् । ‘एक जनाले मात्र यस्तो घटना गराउन सक्दैन भन्ने हामीलाई लागेको छ । प्रहरीले भने एकै जना अभियुक्त भनेर सार्वजनिक गर्यो,’ उनले भने, ‘स्पष्ट विश्वास नलागेसम्म हामीले शव नबुझ्ने निर्णय गरेका छौं ।’ प्रहरीले अझै राम्रोसँग अनुसन्धान गरोस् भन्ने परिवारको माग रहेको उनले बताए । ‘भाउजू (भागरथीकी आमा) ले पनि अहिलेसम्मको अनुसन्धानमा आशंका रहेकाले शव नबुझ्न भन्नुभएको छ,’ उनले भने । भागरथीको शव जिल्ला अस्पतालमा राखिएको छ ।कान्तिपुरबाट































प्रतिक्रिया