दूरसञ्चार सेवाः प्रयोग बढ्दो, आम्दानी घट्दो !

दूरसञ्चार सेवाः प्रयोग बढ्दो, आम्दानी घट्दो !

केन्द्रबिन्दु
0
Shares

सन् २०१९ मा आफ्नो एक जना ग्राहकबाट औसतमा दुई सय ६९ रुपैयाँ आम्दानी गरेको एनसेलको त्यस्तो आम्दानी सन् २०२० मा प्रतिग्राहक दुई सय १४ रुपैयाँमा सीमित भयो ।

सोही वर्ष कुल आम्दानीको २२ प्रतिशत डेटा बिक्रीबाट प्राप्त गरेकोमा कम्पनीको यो हिस्सा बढेर सन् २०२० मा २४ प्रतिशत पुग्यो । पछिल्लो वर्ष एनसेलको आम्दानी १२ अर्ब रुपैयाँभन्दा बढीले घटेको छ । आम्दानी ४१ अर्ब ९२ करोड रुपैयाँमा झरेको छ । जबकी सन् २०१९ मा कम्पनीले ५४ अर्ब १६ करोड रुपियाँ आम्दानी गरेको थियो ।

एनसेलको खुद नाफामा त झन् भारी गिरावट नै देखिन्छ । एनसेलको मुख्य लगानीकर्ताले एजियटाले सार्वजनिक गरेको पछिल्लो वित्तीय प्रतिवेदन अनुसार सन् २०२० मा खुद नाफा केवल तीन अर्ब रुपैयाँ हाराहारी मात्र छ । सन् २०१९ मा एनसेलले १४ अर्ब रुपैयाँ नजिक खुद मुनाफा आर्जन गरेको प्रतिवेदनमा देखिन्छ ।

सरकारी लगानीको नेपाल टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणलाई उपलब्ध गराएको वित्तीय प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७६/७७ मा कम्पनीले ३४ अर्ब ३ करोड रुपैयाँ मात्र आम्दानी गरेको छ । जबकी आव २०७५/२०७६ मा टेलिकमले ३६ अर्ब रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीले माघ ३० गते प्रकाशित गरेको चालू आवको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणमा कुल आम्दानी गत आवको सोही अवधिको तुलनामा एक अर्ब ३४ करोड रुपैयाँले घटेर २० अर्ब ५८ करोड रुपियाँ पुगेको उल्लेख छ ।

यद्यपि पहिलो त्रैमासको तुलनामा दोस्रो त्रैमासमा आम्दानी केही बढेको कम्पनीले जनाएको छ । प्राधिकरणका अनुसार नेपालको समग्र दूरसञ्चार बजारको आकार गत आवमा घटेर ९० अर्ब आसपासमा पुगेको छ । त्यसको अघिल्लो आवमा दूरसञ्चार बजार एक खर्ब नाघेको थियो ।
नेपालको दूरसञ्चार बजारमा ९८ प्रतिशत हिस्सा ओगट्ने यी दुई कम्पनीका सेवाको प्रयोग निरन्तर बढ्दो छ । निरन्तर सेवा विस्तारमा लगानी गरिरहेका कम्पनीहरूले आफ्नो बजार घटेको दाबी सार्वजनिक रूपमा पनि गरेका छैनन् । निष्क्रिय प्रयोगकर्ताको नाममा रहेका सिमकार्ड एक वर्षपछि अरूलाई नै बिक्री गर्न सक्ने प्रावधानका कारण तथ्याङ्कमा दुवै कम्पनीका ग्राहकको सङ्ख्या घटेको देखिए पनि समग्रमा दूरसञ्चार सेवाको प्रयोग भने घटेको देखिँदैन ।

प्रयोग बढिरहँदा पनि दूरसञ्चार सेवा प्रदायक आम्दानी सङ्कुचनको अवस्थामा किन छन् त ? दुवै कम्पनीले यसलाई कोरोना सङ्क्रमणको असरको कारण मानेका छन् । एजियटाले आफ्नो प्रतिवेदनमा कोरोना सङ्क्रमणका कारण जारी गरिएको लकडाउनका कारण भौतिक सम्पर्क नहुँदा ब्यालेन्स राख्ने, सिमकार्ड तथा अन्य उपकरणको बिक्री घट्दा आम्दानी प्रभावित भएको उल्लेख गरेको छ । त्यस्तै लकडाउनकै अवस्थामा निःशुल्क बोनस रिचार्ज गर्नुपर्ने, कम शूल्कमा डेटा उपलब्ध गराउनु पर्ने नियामकको निर्देशनले आम्दानी घटेको जनाएको छ । टेलिकमको पनि उस्तै कारण छ । कोरोना सङ्क्रमणका कारण निकै कम मूल्यमा डेटा प्याकेज उपलब्ध गराउँदा डेटाको प्रयोग बढे पनि राजस्व घटेको कम्पनीले जनाएको छ । त्यस्तै रोमिङ सेवामा आएको गिरावटले पनि राजस्व प्रभावित भएको कम्पनीको दाबी छ ।गाेरखापत्रबाट

Logo