कांग्रेसको ध्यान नयाँ सरकार गठन भन्दा महाधिवेशनमा बढी

कांग्रेसको ध्यान नयाँ सरकार गठन भन्दा महाधिवेशनमा बढी

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसले नयाँ सरकार गठनभन्दा पार्टी महाधिवेशन केन्द्रित छलफल चलाएको छ। ललितपुर सानेपास्थित केन्द्रीय कार्यालयमा कांग्रेसले सोमबार पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीलाई बोलाएको बैठकमा नयाँ सरकार गठन विषयमा सामान्य छलफल मात्रै भएको हो।

पछिल्ला गतिविधि र धारणा हेर्दा कांग्रेसमा तत्काल नयाँ सरकार गठनमा खासै रुचि देखिएको छैन। उसको मुख्य ध्यान महाधिवेशनमै केन्द्रित छ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बैठकमा ‘मुलुकलाई जटिल राजनीतिक अवस्थाबाट निकास दिनुपर्छ’ भन्ने विषयमा सामान्य छलफल भए पनि बैठक क्रियाशील सदस्यता विषयमा बढी केन्द्रित भएको जानकारी दिए। ‘बैठकमा राजनीतिकभन्दा बढी क्रियाशील सदस्यता विषयमा छलफल केन्द्रित भयो,’ पौडेलले राजधानीसँग भने।

बैठकमा आगामी १४औं महाधिवेशनका लागि क्रियाशील सदस्यता विवरण विषयमा मात्रै छलफल भएको नेता रमेश लेखक बताउँछन्। बैठकमा तत्काल नयाँ सरकार गठन विषयमा कुनै छलफल नभए पनि आवश्यक परे कांग्रेस वैकल्पिक सरकार दिन सधैं तयार रहेको उनले बताए ।

‘कांग्रेस प्रतिपक्षी दल हो, आवश्यकता परे कांग्रेसले वैकल्पिक सरकार दिन सक्छ तर अहिले नै स्थिति परिपक्व बनिसकेको छैन,’ नेता लेखकले बैठकपछि पत्रकारसँग भने । बैठकमा कांग्रेस केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले क्रियाशील सदस्यताबारे भएको प्रगतिबारे नेतृत्वलाई जानकारी गराएको छ। लेखक समिति संयोजक हुन् ।

लेखकले सोमबारसम्म ६९ जिल्लाले क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यता विवरण अनलाइन प्रणालीमा राख्न सुरु गरेको जानकारी दिए। कांग्रेसले यसपटकदेखि सदस्यता विवरण जिल्लाबाटै अनलाइन प्रणालीमा राख्न सकिनेगरी व्यवस्था मिलाएको छ।

संयोजक लेखकका अनुसार सप्तरी, सिरहा, धनुषा, बारा, रसुवा, बर्दिया, बाँके, रुकुम पूर्व र डोल्पामा क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यता वितरण विवरण अनलाइन प्रणालीमा राख्न सुरु गरिसकेका छैनन्।

हालसम्म ६९ जिल्लाबाट ३ लाख ९२ हजार ७ सय ९४ क्रियाशील सदस्यताको नाम प्रणालीमा ‘इन्ट्री’ भएको छ। तीमध्ये २ लाख १२ हजार ५ सय १९ जनाको नाम नवीकरणमा ‘इन्ट्री’ भएको छ भने १ लाख ८० हजार २ सय ७५ जनाको नाम नयाँ क्रियाशील सदस्यता लिनेका नाममा ‘इन्ट्री’ भएको छ।

महाधिवेशन कार्यतालिका अनुसार एक निर्वाचन क्षेत्र भएका जिल्लाले क्रियाशील सदस्यता वितरण तथा नवीकरणका सबै तथ्यांक आज १० चैतभित्र केन्द्रमा पठाइसक्नु पर्ने तोकिएको थियो।राजधानीबाट

Logo