कोरोना संक्रमणको दर बढ्दै जाँदा बिहीवार रातिदेखि १ साताका लागि काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू हुने भएपछि २ दिनमा २ लाख मान्छे उपत्यकाबाट बाहिरिएका छन्। संक्रमण बढेर भयावह अवस्था आउन नदिनका लागि उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीहरूको सोमवार बसेको संयुक्त बैठकले निषेधाज्ञाको निर्णय गरेको थियो।
गतवर्षको जस्तै निषेधाज्ञाको समय लम्बिँदै जान सक्ने आशंकामा सर्वसाधारणहरू घर जाने क्रम बढेको हो। कलंकी, बालाजु, कोटेश्वर, बल्खुलगायत स्थानमा उपत्यका छाडेर बाहिरिने मान्छेहरूको भीड बढेको देखिएको छ।
यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले उपत्यकामा निषेधाज्ञा हुने भएपछि सोमवार र मंगलवार गरि २ दिनमा करीब २ लाख मान्छे उपत्यका छाडेर बाहिरिएको बताए। उनका अनुसार सामान्य अवस्थामा उपत्यका छाड्नेहरूको संख्या दैनिक करिब ५० हजारको हाराहारीमा हुने गर्छ।
सरकारले बिहीवारदेखि निषेधाज्ञा लागू गर्ने भएको छ । सरकारले दिएका अवधिमा गाउँ फर्किन चाहनेहरूका लागि सवारी पर्याप्त नहुने भएकाले कम्तीमा पनि २÷३ दिनकाे समय थप गर्नुपर्ने उनको भनाइ छ । उपत्यका बाहिर जानेहरूका लागि सहज बनाउन गाडी चलाउने समय थप नगरेमा अघिल्लोपटकको बन्दाबन्दीमा जस्तै समस्या आउन सक्ने उनले बताए ।
निषेधाज्ञाको खबर बाहिरिएसँगै सोमवारदेखि नै उपत्यकामा बसेर पढ्ने विद्यार्थी, दैनिक ज्यालादारी गर्ने मजदूर र अन्य कामको शिलसिलामा काठमाडौं आएकाहरू बाहिरिने क्रम बढेको हाे। बुधवारसम्मका लागि सबै गाडीका टिकटहरू बुक भइसकेका छन् । धेरै यात्रुहरूले टिकट नपाएको गुनासो समेत गरेका छन्।
मंगलवार बिहान बालाजु बसपार्कमा टिकट काट्न आएका बर्दियाका तेजेन्द्र रावलले बर्दिया जाने गाडिको टिकट पाएनन् । त्यसैले उनले नेपालगञ्जसम्म जाने गाडीको टिकट लिए। नेपालगञ्ज पुगेपछि त्यहाँबाट अर्को गाडीमा जाने उनले बताए।
उपत्यका छाडेर बाहिरिने यात्रुहरू बढेसँगै यातायात व्यवसायीहरूले मनपरी रूपमा भडादर असुल्ने गरेको पाइएको छ। काठमाडौंदेखि लम्कीसम्मको एसी गाडीको भाडादर १५ सय रुपैयाँ हो तर बालाजु टिकट काउन्टरका कर्मचारीहरूले लम्की र टीकापुरसम्म जानेहरूलाई पनि १८ सय ५० रुपैयाँ असुलेर धनगढीकै भाडादरमा टिकट विक्री गरिरहेको पाइएको छ।अभियान दैनिकबाट





























प्रतिक्रिया