नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आन्तरिक विवाद मिलाउन गठित कार्यदल आन्तरिक परामर्श र गृहकार्यमा व्यस्त देखिएको छ।
कार्यदलले सोमबार बिहानदेखि नै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालसँग अनौपचारिक परामर्श थालेको छ। दुवै नेताको सल्लाह र सुझावका आधारमा कार्यदलले आफ्नो काम अघि बढाउनेछ। तीन दिनको समयसीमा दिइए पनि छलफल र प्रतिवेदन लेखनमा समय लाग्ने भएकोले केही समय लम्बिने भएको छ।
कार्यदलका संयोजक तथा स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालसँग अनौपचारिक परामर्शमा गृहकार्य भइरहेको जानकारी दिएका छन्। उनका अनुसार मंगलबार कार्यदलको बैठक बस्नेछ।
अध्यक्ष ओली र नेता नेपालबीच मिलेर अघि बढ्ने सहमति भएपछि पार्टीको आन्तरिक विवाद समाधान गरी पार्टीलाई एकताबद्ध बनाउन गृहकार्य गर्न १० सदस्यीय कार्यदल गठन भएको हो। दुवै तर्फबाट पाँच–पाँच जना सदस्यहरु कार्यदलमा छन् ।
कार्यदलमा अध्यक्ष ओलीतर्फबाट नेम्वाङकाे संयोजकत्वमा नेताहरु विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य छन्। त्यस्तै नेता नेपालको तर्फबाट संयोजक भीमबहादुर रावलसहित नेताहरु सुरेन्द्र पाण्डे, घनश्याम भुषाल, गोकर्ण विष्ट र रघुजी पन्त सदस्य रहेका छन्।
एमालेको नेपाल पक्ष पार्टीलाई ०७५ जेठ २ गतेको अवस्थामा फर्काउनु पर्ने अडानमा छ। ओली र नेपालबीच गत बिहीबार बूढानीलकण्ठमा भएको करिब चार घण्टा भएको वार्तामा पार्टीलाई ०७५ जेठ २ कै अवस्थाबाट अगाडि बढाउने सहमति भएको थियो। तर त्यसको मोडालिटीबारे दुई पक्षबीच कुरा मिल्न बाँकी छ। सोही सहमतिअनुसार शुक्रबार बसेको शीर्ष नेताको बैठकले सहमति कार्यान्वयका लागि कार्यदल बनाउने जिम्मा अध्यक्ष ओली र वरिष्ठ नेता नेपाललाई दिएको थियो।अन्नपूर्णबाट





























प्रतिक्रिया