राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना (कोभिड–१९) महामारीविरुद्ध लड्न आवश्यक खोप सहयोगको अपिलसहित पत्र पठाएकी छिन्। यस पत्राचारप्रति अमेरिकी सरकारले खोप उपलब्ध गराउन सकारात्मक जवाफ पनि दिएको छ।
राष्ट्रपति भण्डारीले पठाएको सो पत्र शुक्रबार अमेरिकी विदेश मन्त्रालयमार्फत अमेरिकी राष्ट्रपति बाइडेनसमक्ष पुगेको छ। पत्रमा नेपालले कोभिड–१९ महामारीको दोस्रो लहरको सामना गरिरहेको सन्दर्भमा नेपाली नागरिकको जीवन रक्षाका लागि अमेरिकाको सहयोग अर्थपूर्ण रहने राष्ट्रपति भण्डारीले उल्लेख गरेकी छिन्।
त्यसका लागि खोपको उपलब्धता सुनिश्चित गर्नु नेपाल सरकारको प्राथमिकतासँगै पहिलो दायित्व भएकाले खोप खरिद र उपलब्धताका निमित्त सहजीकरण गरिदिन अमेरिकी राष्ट्रपतिसमक्ष राष्ट्रपति भण्डारीले आग्रह गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिए।
अमेरिकाका लागि नेपालका राजदूत डा. युवराज खतिवडामार्फत अमेरिकी विदेश मन्त्रालयले पठाएको सन्देशमा नेपाललाई खोप उपलब्ध गराउने विषय प्राथमिकतामा राख्ने आश्वासन दिइएको छ ।गाेरखापत्रबाट





























प्रतिक्रिया