यस वर्षदेखि मनसुन ढिलाे सुरू हुने

यस वर्षदेखि मनसुन ढिलाे सुरू हुने

केन्द्रबिन्दु
0
Shares

नेपालमा यस वर्षदेखि मनसुन पछाडि धकेलिएको छ। मनसुन सुरु हुने, बहिर्गमन हुने र मनसुनको अवधिसमेतको समय पछाडि धकेलिएको हो । यसअघिका १० वर्षको अवधिमा हरेक वर्ष जुन १० मनसुन सुरु हुने दिन तय गरिएको थियो तर यस वर्षदेखि जुन १३ लाई मनसुन सुरु हुने मिति तय भएको छ ।

त्यस्तै गत वर्षसम्म मनसुन सकिने अवधि सेप्टेम्बर २३ रहेकोमा अब मनसुन सकिने मिति समेतपछि सर्दै अक्टोबर २ पुगेको छ। त्यसैले यसै वर्षदेखि मनसुन सुरु हुने र अन्त्य हुने अवधि नै पछाडि सरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विगत चार–पाँच वर्षयता मनसुन सुरु हुने समय ढिला हुँदै गएको अवस्था र हरेक १० वर्षमा मनसुन अवधि अद्यावधिक गर्न आवश्यक मौसम विश्लेषणपछि मनसुन सुरु हुने र अन्त्य हुने मिति पछाडि सारिएको विभागको जलवायु महाशाखाकी वरिष्ठ मौसमविद् डा. इन्दिरा कँडेलले जानकारी दिइन्।

उनका अनुसार विश्व मौसम सङ्गठनको नियमअनुसार अन्तर्राष्ट्रिय मान्यताअनुरूप हरेक १० वर्षमा मौसम परिवर्तनको अवस्था विश्लेषण गरी अद्यावधिक गर्नुपर्ने हुन्छ । उनले भनिन्, “नेपालको मनसुनसहितको मौसमी अवस्था अद्यावधिक गर्नका लागि पछिल्लो ३० वर्ष अर्थात् सन् १९९१ देखि २०२० सम्मको मौसमी तथ्याङ्कलाई विश्लेषण गरिएको छ।”

त्यस विश्लेषणले नेपालमा मनसुन सुरु हुने औसत दिन जुन १३ मा पुगेको देखाएअनुरूप नै यस वर्षदेखि केही पछाडि सरेको हो । विगतका केही वर्ष यता जुन १० मा सुरु हुनुपर्ने मनसुन ढिला गरेर एक साता ढिला हुने गरेको थियो। सो अनुपात निकाल्दा पनि बीचको मितिलाई नयाँ मनसुनको मिति बनाइएको हो।

त्यस्तै सेप्टेम्बर २३ मनसुन बहिर्गमन हुने मौसमी अवस्था पनि विगत केही वर्षयता अक्टोबर पहिलो साता पुग्ने गरेको थियो। विगत ३० वर्षको मौसमी विश्लेषणसहित परिमार्जन गरेर अक्टोबर पहिलो साता मनसुन अन्त्य हुने दिन मनसुन फोरमको बैठकले तय गरेको मौसमविद् कँडेलको भनाइ छ । यो विगतका वर्षमा भन्दा १० दिन ढिला मनसुन अन्त्य हुने मिति हो।

त्यस्तै गरेर विगत १० वर्षसम्म मनसुनको अवधि सरदर १०५ दिन रहेको थियो। यो अवधि मनसुन पछाडि सर्ने क्रममा बढेको विभागले औँल्याएको छ। अब तय भएको मनसुनी अवधि छ दिन बढेर १११ दिन पुगेको कँडेलले जानकारी दिइन्।गाेरखापत्रबाट

Logo