कोरोना संक्रमण रोकथामविरुद्ध खोप उत्पादन गर्दै आएका उत्पादक राष्ट्रहरूले नेपाललाई खोप उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि अहिलेसम्म दिलाउन सकेका छैनन् । बेलायत, रुस, अमेरिका, डेनमार्कलगायत राष्ट्रले (कोभ्याक्स फ्यासिलिटी,खरिद प्रक्रिया र अनुदानमार्फत) खोप उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि नेपालले पाउन सकेको छैन ।
खोप उत्पादक राष्ट्रहरूले खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएपनि सुनिश्चितता गर्न नसक्दा नेपालले कहिलेसम्म पाउने निश्चित छैन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी पुस मसान्तसम्म आमनागरिकलाई खोप लगाइसक्ने प्रतिबद्धता जनाएका छन् । तर, सो प्रतिबद्धता कार्यान्वयनमा सकस देखिएको छ । तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले खोपमा‘ब्रेक थ्रु’ हुने बताएका थिए । उनी आफैं मन्त्रीबाट हटिसकेका छन् ।
ज्ञवाली हटेपछि परराष्ट्रमन्त्री नियुक्ति भएका रघुवीर महासेठले एक सार्वजनिक कार्यक्रममा अमेरिकाको जोन्सन एन्ड जोन्सनसँग ५० लाख डोज खोप किन्न कुराकानी भइरहेको बताएका थिए । तर, सो खोप आउने,नआउने अन्योल छ ।
यस्तै,तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले पनि केही दिनमा खोपसम्बन्धी सुखद् समाचार आउने राजधानीलाई बताएका थिए । मन्त्रीबाट पदमुक्त भएपछि बुधबार उपलब्धि सार्वजनिक गर्दै निवर्तमान स्वास्थ्यमन्त्री तामाङले केही दिनमा नै खोप आउने सुनिश्चित भएको बताएका थिए । तर, खोप कहिले आउने कति मात्रामा आउने केही खुलाएका थिएनन्।
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार ४ अर्ब ८९ करोड रुपैयाँभित्र रहेर चीनबाट भेरोसिल खोप ल्याउने तयारी छ। स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने, ‘४ अर्ब ८९ करोड रुपैयाँभित्र रहेर चीनबाट भेरोसिल खोप निकट भविष्यमा आउनेछ । सबै प्रक्रिया अघि बढेको छ।’ चीनले नेपाललाई ४० लाख मात्रा भेरोसिल खोप चरणबद्ध रूपमा उपलब्ध गराउने बाचा दिएको छ।
कोरोना संक्रमणको अचुक उपाय मानिएको खोप कहिले नेपाल भित्रिने ? अन्योलता छाउँदा खोप लगाउनबाट सर्वसाधारण वञ्चित हुनुपरेको छ ।
१३ लाख ५० हजार नागरिकले कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएपनि १५ जेठभित्रै दोस्रो मात्रा लगाउनुपर्ने थियो । भारत सरकारले नेपालले खरिद गरेको १० लाख मात्रा उपलब्ध नगराउँदा ज्येष्ठ नागरिक दोस्रो मात्रा खोप लगाउनबाट वञ्चित हुनुपरेको हो। खोप विज्ञ डा.श्यामराज उप्रेतीले खोप जहिले आएपनि पहिलोमात्रा लगाएकालाई दोस्रोमात्राका रूपमा गणना हुने बताए ।
सरकारले क्रमिक रूपमा निषेधाज्ञा खुकुलो बनाउँदै लगेको छ। तर, अधिकांश नागरिकले खोप लगाउन नपाएकाले निषेधाज्ञा खुकुलो हुँदा थप जोखिम बढ्ने जनस्वास्थ्य विज्ञको आँकलन छ।
सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुन संक्रमणबाट बच्ने उपाय कोरोनाविरुद्धको खोप र जनस्वास्थ्यका मापदण्ड पूर्णतः कार्यान्वयन रहेको बताउँछन् ।
हालसम्म नेपालमा ४२ लाख ४८ हजार कोरोनाविरुद्धको खोप भित्रिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अनुमानित २६ लाख नागरिकले पहिलो मात्रा लगाएका छन् । सरकारले २ करोड १७ लाख ५६ हजार ७ सय ६३ नागरिकलाई खोप लगाउने योजना बनाएको छ। अझै अनुमानित १ करोड ९० लाख नागरिकले खोप लगाउनै पाएका छैनन् ।राजधानीबाट





























प्रतिक्रिया