वर्षायाममा चट्याङको जोखिम उच्चः किन पर्छ चट्याङ, कसरी बच्ने?

वर्षायाममा चट्याङको जोखिम उच्चः किन पर्छ चट्याङ, कसरी बच्ने?

केन्द्रबिन्दु
0
Shares

वर्षाको मौसमसँगै चट्याङबाट मानिसको मृत्यु र धनजनको क्षतिका घटना हुन थालेका छन् । नेपालमा चट्याङले वर्सेनि धेरै मानिसले ज्यान गुमाउनु परेको छ भने धेरै मानिस घाइते हुने गरेको तथ्याङ्कमा उल्लेख छ।

नेपालमा वर्षायाम, प्रि–मनसुनमा पूर्वी भूभाग तिर धेरै चट्याङ पर्छ भने जाडो महिनामा अर्थात माघ–फागुनमा पश्चिम नेपाल तिर चट्याङले बढी क्षति पुर्याउने गरेको चट्याङ विज्ञको भनाइ छ।
चट्याङबारे लामाे समयदेखि अध्यन गर्दै आउनु भएकाे  विज्ञ डा. श्रीराम शर्माका अनुसार नेपालमा प्रि–मनसुनमा चट्याङ धेरै पर्ने गर्छ। यस समयमा पूर्व भूभागमा बढी चट्याङ पर्ने गर्छ। पूर्वी क्षेत्रको झापा र मोरङमा सबैभन्दा बढी चट्याङ पर्ने गर्छ। शर्माका अनुसार चट्याङले चुरे क्षेत्रमा बढी नोक्सानी गरेको छ। दक्षिण, पूर्वी भागपछि चुरे क्षेत्रमा बढी चट्याङ परेको पाइन्छ, नवलपरासीसम्म। त्यसपछि पोखरादेखि म्याग्दीसम्म बढी चट्याङ परेको पाइन्छ।

जाडो महिनामा अर्थात् माघ, फागुनमा पश्चिम तिर बढी क्षति गरेको पाइन्छ, कैलाली, बाँके अलि बढी क्षति गरेको पाइएको उनले बताए। पछिल्लो एक वर्षको तथ्याङ्क हेर्ने हो भने नेपालमा चट्याङका १९५ घटना भएका छन्। नेपाल प्रहरीको तथ्याङ्क अनुसार २०७७ साउन महिनादेखि ०७८ को असार ३ गतेसम्म चट्याङबाट ४४ जनाले ज्यान गुमाएका छन् भने १८६ जना घाइते भएका छन्। त्यस्तै चट्याङबाट एक वर्षमा ७६ लाख ७५ हजार ३३० रुपैयाँ बराबरको क्षति भएको छ । चट्याङबाट पाँच गोठमा क्षति पुगेको छ भने ३४० चौपायाले मरेका छन्। साथै २१ घरमा क्षति पुगेको छ।

यता चट्याङ विज्ञ डा. श्रीराम शर्माले गृह मन्त्रालयको तथ्याङ्कमा नेपालमा प्रत्येक वर्ष १०३ देखि १०८ जनाको चट्याङ लागेर मृत्यु हुने गरेको पाइएको बताए। डा. शर्माले औसतमा तीन सयको हाराहारीमा चट्याङबाट घाइते हुने जानकारी दिए। त्यस्तै हजारको हाराहारीमा चौपायाले ज्यान गुमाएको देखिन्छ, यो तथ्यांक वास्तविक तथ्याङ्क भन्दा कम हो।

कसरी पर्छ चट्याङ?
उनी भन्छन्, ‘चट्याङ एउटा विपद् हो। यो ठूलो मात्राको करेन्ट हो । घरमा सामान्य करेन्ट लागेर मानिसको मृत्यु हुन्छ भने यो त झन ठूलो करेन्ट हो । यसले प्राकृतिक प्रक्रिया अन्तर्गत नै मानिसको ज्यान लिन्छ ।’ साथै चट्याङ विद्युतीय करेन्ट हो जसका कारण मानिसको मृत्यु हुन्छ।

 विश्वमा नेपाल चट्याङको पाँचौं स्थानमा रहेको छ। तर, मालबीको तथ्याङ्क त्यति राम्रो नभएका कारणले हामीले नेपाल चट्याङको जोखिममा चौथो स्थानमा रहेको मान्न सकिने उनले बताए। त्यस्तै २०६८ सालदेखि यताको तथ्याङ्क हेर्ने हो भने यो सङ्ख्या न्यून हो। किन भने गृह मन्त्रालयमा जुन तथ्याङ्क आउँछ त्यो प्रहरी, सशस्त्र प्रहरी, गाउँपालिकाले रिपोर्ट गरेपछि आउने गरेको उनले बताए।

‘चट्याङका कतिपय घटनाका खबर गृह मन्त्रालयसम्म पुग्न सकेको हुँदैन। चट्याङले वनजङ्गलमा मानिस मार्छ, घाइते हुन्छन् त्यो रेकर्ड मन्त्रालयसम्म पुग्न पुग्न सक्दैन,’ चट्याङ विज्ञ डा. श्रीराम शर्माले भन्नुभयो, ‘पछिल्लो समयमा मिडिया कभरेजका कारण केहि तथ्याङ्क बढी फेला पर्न थालेको छ। औसतमा सयभन्दा बढी  मानिस चट्याङले मर्ने गर्छन्। करिब तीन सय घाइते हुन्छन् ।’

विगतका वर्षमा ४८० को हाराहारीमा र कुनै वर्ष दुई सयको हाराहारीमा पनि चट्याङका कारण मानिस घाइते हुने गरेको पनि उनले बताए। 

कसरी बच्ने?
यसबाट बच्न घरमा चट्याङ प्रतिरक्षात्मक सामग्री राख्नुपर्छ। जस्तै तामाका पाता, एल्मोनियम अथवा डिआइका सामान्य रडहरु राखेर घरलाई सुरक्षित बनाउन सकिन्छ। ‘चट्याङबाट बच्ने एउटा प्रविधि हुन्छ, यतिकै जादू केहिले पनि हुँदैन।  सामान्य खर्चमा संरचना वा घर जोगाउन सकिन्छ,’ उनले भने, ‘साथै चट्याङबारे जनचेतना फैलाउनु पर्छ। सुरक्षित स्थानमा बस्ने। चट्याङ पर्दा घर बाहिर नबस्ने र घर भित्र बस्दा पनि सुरक्षित भएर बस्ने।’

उनका अनुसार चट्याङबाट बच्न पक्की घर धेरै हदसम्म सुरक्षित छ तर गाउँघरतिर बनाइएका खरका घर भने असुरक्षित छन्। त्यसले गर्दा चट्याङका घटनाहरु बढेका हुन्। यी घरलाई पनि सामान्य खर्च अर्थात् २५–३० हजार खर्च गरेर जोगाउन सकिने उनले बताए। यसतर्फ कुनै पनि निकायको ध्यान पुग्न नसकेको उनको गुनासो छ।

साथै उनले चट्याङसम्बन्धी जनचेतनाको कमीले पनि धेरै जनधनको क्षति हुने गरेको बताए। ‘आकाशैको गड्याङगुडुङ, भुइँको खजुरीलाई’ भन्दै गाउँदै हिँड्ने गरेको सम्झदै उनले गड्याङगुडुङले के गर्छ खजुरो मार्छ मलाई मार्दैन भन्ने मानसिकता अहिले पनि आममानिसमा विधितै रहेको बताए। साथै कसलै घरको धुरीमा लगेर सिँउडी रोप्ने गर्छन् । यी सबै रुढीबादी अन्धविश्वास समाजमा छन्, जसले गर्दा विपद्लाई निम्त्याइ रहेको हुन्छ।गाेरखापत्रबाट

Skip This
Skip This
Logo