बाढीले क्षति गराएको मेलम्ची खानेपानी आयोजना मर्मत गर्न विभिन्न तयारी गरिएको छ। आयोजनाको टोली क्षतिग्रस्त ठाउँको निरीक्षण गर्दै हेड बक्ससम्म पुग्नको लागि आवश्यक पर्ने सडक खोल्न आवश्यक तयारी अगाडि बढाइएको छ।
खानेपानी आयोजनाको महानिर्देशकसहित परामर्शदाताको टोली क्षतिग्रस्त ठाउँमा रहेको खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए। उनीहरु केही दिनदेखि आयोजनामा रहेको र बाटो नखोलेसम्म काम अगाडि नबढ्ने भएकाले त्यसको लागि निरीक्षणको काम भइरहेको उनले जानकारी दिए।
साथै, बाटो कसरी सुचारु गर्ने भन्ने विषयमा पनि स्थानीय बासिन्दासँग छलफल भइरहेको छ। क्षति गरेको तिम्बुदेखि हेडबक्ससम्म पुग्न नयाँ बाटो खोल्ने सम्मको तयारी भएको र विदेशी परामर्शदातासमेत अहिले आयोजनामै रहेको उनले बताए।
केही दिनदेखि मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशकसहित इन्जिनियरको टोली मेलम्चीको पुलबजारमा बसेर आयोजनाको काम अगाडि बढाउने तयारी गरेको छ।अझैँ पनि त्यस क्षेत्रमा बाढी पहिरोको जोखिम रहेकाले आयोजनालाई थप हुन सक्ने क्षति कम गर्न विभिन्न उपायबारेमा अध्ययन भएको आयोजनाको भनाइ छ।
यसैगरी, आवश्यक पर्ने सडक र पुल बनाउन सडक विभाग र नेपाली सेनासँग पनि समन्वय गर्न छलफल अगाडि बढेको छ। मेलम्चीको बाढीले पुरिदिएको हेडबक्स मर्मत गर्न आवश्यक सामाग्री लैजान सडक र पुलको आवश्यकता पर्ने भएकाले चाँडो काम गर्ने उद्देश्यले नेपाली सेना र सडक विभागसँग कुराकानी भएको मेलम्ची खानेपानी विकास समितिले जानकारी दिएको छ।
हेलम्बु गाउँपालिकाको एक र दुई वडा कार्यालयसँगको समन्वयमा बाटो खोल्ने काम केही दिनदेखि सुरु भइसकेको छ। स्थानीय तहले पनि बाटो केही दिनदेखि खोलिरहेको र अझैं छिटो काम गर्नको लागि नेपाली सेनासँग पनि समन्वय गर्न लागिएको समितिको भनाइ छ।
बाटो र पुल नबनेको अवस्थासम्म आयोजनालाई चाहिने उपकरण, सामान लैजान नसकिने भएकाले बाटो खोल्न विभिन्न उपाय अपनाइएको छ। पानी ल्याउनको लागि अम्बाथानको टनेल भरिएको बालुवा सफा गर्नुपर्ने हुन्छ। भरिएको बालुवा सफा गरेको अवस्थामा भदौ, असोज महिनाको अन्तिमसम्म सुरुङमा पानी हाल्न सकिने आयोजनाको भनाइ छ।
बाढीले आयोजना स्थलसम्म पुग्ने प्रवेश मार्ग, आयोजनाको बाँध, अडिट सुरुङ, हेडवर्क, पुल तथा मुहानको संरचनामा क्षति पुर्याएको छ। बाटो बनेपछि सामान राख्ने ठाउँसँगै मानिस बस्ने संरचना बनाउनुपर्ने हुन्छ। हेडबक्समा तीनदेखि चार लाख घन मिटर बालुवा माटो थुप्रिएको आयोजनाको अनुमान छ।
हेडबक्ससम्म पुग्न पाँच वटा पुलको आवश्यकता पर्छ भने करिव पाँच किलो मिटर बाढीले पुरिदिएको सडक खोल्नुपर्ने तत्कालको लागि आवश्यक छ। क्षति भएको संरचना मर्मत गरेर दशैं, तिहार अघि नै काठमाडौं उपत्यकामा पानी ल्याउने खानेपानी विकास समितिको तयारी छ।गाेरखापत्रबाट





























प्रतिक्रिया