दशैं, तिहार अघि मेलम्चीकाे पानी काठमाडाैं ल्याउन नसकिने

दशैं, तिहार अघि मेलम्चीकाे पानी काठमाडाैं ल्याउन नसकिने

केन्द्रबिन्दु
0
Shares

मेलम्चीको पानी काठमाडौं ल्याउन अनिश्चित देखिएको छ। आयोजनाको हेड बक्ससम्म पुग्नको लागि आवश्यक पर्ने सडक र पुल बनाउन समय लाग्ने भएको छ। बाटो र पुल नबनेको अवस्थासम्म आयोजनालाई चाहिने उपकरण, सामान लैजान नसकिने भएकाले काम अगाडि बढाउन नसकिएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले बताए।

बिग्रिएको बाटो र अस्थायी पुल बनाउन छलफल भए पनि काम अगाडि बढ्न नसकेको प्रवक्ता पन्तले बताए। अहिलेको अवस्थालाई हेर्दा दशैं, तिहारसम्म काठमाडौंमा पानी ल्याउन नसकिने अवस्था रहेको समितिको भनाइ छ। असोज, कार्तिकसम्म बाटो र अस्थायी पुल बनेको अवस्थामा त्यसपछि सामान लगेर काम सुरु गर्न सकिने छ।

गाडी पुग्ने बाटो बनेपछि तीनदेखि चार महिनासम्ममा पानी ल्याउन सकिन्छ भन्ने अनुमान रहेको उनले जानकारी दिए। अहिले पनि पानी पर्ने र बाढी र पहिरो जाने खतरा नहटेकाले आयोजनाको काम गर्न अन्यौल देखिएको छ। हेडबक्स बनाएको निर्माण कम्पनीसँग बाटो पुगेको अवस्थामा कति दिनमा काम सम्पन्न गर्न सकिन्छ भनेर उहाँहरुसँग कुराकानी गरिसकेको समेत उनले जानकारी दिए।

विभाग र नेपाली सेनाको सहयोगमा बाटो र पुल बनाउन सहयोग लिने विषयमा छलफल भए पनि माथिल्लो तहबाटै निर्णयसँगै बजेटको पनि व्यवस्थापन गर्नु अवस्था रहेकाले समय लाग्ने देखिएको हो। मेलम्ची बजारदेखि मेलम्चीको हेडवर्कस रहेको ठाउँसम्म पुग्ने बाटो बनाउने काम हेलम्बु गाउँपालिकाको एक र दुई वडा कार्यालयसँगको समन्वयमा बाटो खोल्ने काम गरे पनि थोरै थोरै मात्रका काम अगाडि बढेको प्रवक्ता पन्त बताउँछन्। छिटो खोल्न एक्लै आयोजनाले मात्र सक्ने अवस्था छैन।

बाटो बनेपछि सामान राख्ने ठाउँसँगै मानिस बस्ने संरचनासमेत बनाउनु पर्ने हुन्छ। त्यसपछि, प्राविधिक टोलीसँगै कामदारहरुले काम अगाडि बढाउने छन्। हेडबक्समा तीनदेखि चार लाख घन मिटर बालुवा माटो थुप्रिएको आयोजनाको अनुमान गरे पनि पुरिएको ठाउँमा खोलेर नहेरिकन अहिले नै भन्न नसकिने अवस्था रहेको पन्त बताउँछन्।

हेडबक्ससम्म पुग्न पाँच वटा पुलको आवश्यकता पर्छ भने करिव पाँच किलो मिटर बाढीले पुरिदिएको सडक खोल्नुपर्ने आवश्यक छ। आयोजनाको अस्थायी संरचनामा क्षति पुर्याएको भए तापनि मुख्य सुरुङलगायत स्थायी संरचनामा असर नगरेका कारण ठूलो क्षति हुनबाट जोखिएको छ।गाेरखापत्रबाट

Logo