स्वास्थ्य बीमाप्रति नागरिककाे पहुँच बढ्दै, देशका ७३६ तहमा कार्यक्रम सञ्चालन

स्वास्थ्य बीमाप्रति नागरिककाे पहुँच बढ्दै, देशका ७३६ तहमा कार्यक्रम सञ्चालन


स्वास्थ्य बीमामा नागरिकको पहुँच बढ्दै गएको छ। साढे ५ वर्षमा स्वास्थ्य बीमा बोर्डले ७५ जिल्लाका ७३६ स्थानीय तहमा पहुँच विस्तार गरेको छ। सरकारले सञ्चालन गरेको सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम अन्तर्गत काठमाडौं, ललितपुरबाहेक देशभर सञ्चालन भइरहेको छ। 

सरकारले बीमीतलाई देशभरका ४ सय २८ वटा सेवा प्रदायक अस्पतालबाट सेवा दिइरहेको छ। चालु आर्थिक वर्षमा ललितपुरका ३ स्थानीयतहमा सुरु गर्न थालेको बोर्डका कार्यकारी निर्देशक डा.दामोदर बसौलाले जानकारी दिए। उनका अनुसार कार्यक्रम विस्तारका लागि दर्ता सहयोगी छनोट तथा स्थानीय जनप्रतिनिधिलाई अभिमुखिकरण कार्य सम्पन्न भइसकेको छ। 

बीमाको पहुँच बिस्तार गरेसँगै हालसम्म (असोज १० गतेसम्म) साढे ४५ लाख ५२ हजार ९११ जना नागरिक सहभागी भएका छन्। यो ७५ जिल्लाको कुल जनसंख्या २ करोड ६४ लाख ९५ हजारको  १७.८३ प्रतिशत हो।

यो संख्या १३ लाख ८८ हजार ५३५ बिमित परिवारको हो। बोर्डले गरिबीको परिचयपत्र प्राप्त २६ जिल्लाका अति गरिब ४ लाख ७६ हजार ३५२ जना नागरिकलाई स्वास्थ्य बीमामा आवद्ध गरेको जानकारी दिएको छ। 

हालसम्म सबैभन्दा बढी स्वास्थ्य बीमा गर्नेमा  प्रदेश १ अगाडि छ। सो प्रदेशमा १५ लाख ३ हजार १०५ जनाले बीमा गरेको छन्। सो क्षेत्रको जनसंख्याको ३३.१४ प्रतिशत हो। सो क्षेत्रमा ४५ लाख ३५ हजार ९ सय ४३ जनसंख्या छ।  

बीमाको शुल्क र पाउने सुविधा
यसमा योगदान रकम एउटै परिवारको ५ जनासम्मको प्रतिवर्ष ३ हजार ५ सय रुपैंयाँ प्रिमियममा बिमाको सुविधा दिएको छ। परिवारका ५ जनाभन्दा बढीको गर्नुपरेमा थप प्रति सदस्य ७ सय तिर्नुपर्ने व्यवस्था छ।यसबाट वार्षिक १ लाख रुपैंयाँसम्मको औषधि तथा उपचार खर्च सुविधा पाइन्छ।  

परिवारको ५ जना भन्दा बढीलाई प्रति सदस्य २० हजारका दरले बढीमा दुई लाखको कभरेज हुन्छ। तर यसबाहेक ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई सरकारले नै बिमा गरिदिन्छ। छुट्टै एक लाखको उपचार खर्च व्यहोरिने नीतिगत व्यवस्था छ। स्वास्थ्य बीमा नियमावली २०७५ ले ज्येष्ठ नागरिकका लागि सरकारले नै बीमा प्रिमियम तिरिदिने गरी छुट्टै एकाइको रुपमा वार्षिक एक लाख बराबरको स्वास्थ्य बीमाको व्यवस्था गरेको हो। अन्नपूर्णबाट

Logo