३५ प्रतिशत नेपाली जीवन बीमाकाे पहुँचमा

३५ प्रतिशत नेपाली जीवन बीमाकाे पहुँचमा

केन्द्रबिन्दु
0
Shares

पछिल्लो १ वर्षमा नै जीवन बीमाको पहुँच १० प्रतिशतले बढेको देखिएको छ। बीमा समितिबाट प्राप्त चालू आर्थिक वर्ष (आव) को पुस मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो।

तथ्यांकअनुसार पुस मसान्तसम्म ३५ प्रतिशत नेपालीमा बीमाको पहुँच पुगेको छ। गत आवको पुस मसान्तसम्म २४ दशमलव ८६ प्रतिशत नेपालीमा बीमाको पहुँच पुगेको थियो। सावधिक बीमा, म्यादी बीमा र वैदेशिक रोजगार म्यादी बीमामा आबद्ध जनसंख्याको आधारमा त्यस बराबरको नेपाली बीमाको दायरामा देखिएका हुन् ।

संख्याको आधारमा पछिल्लो १ वर्षमा ३१ लाख ५७ हजार ८६९ जना नेपाली बीमाको दायरामा जोडिएका छन् । गत आवको पुस मसान्तसम्म ७३ लाख ७६ हजार ६६० जना नेपाली बीमाको दायरामा थिए । चालू आवको पुस मसान्तसम्म त्यो संख्या १ करोड ५ लाख ३४ हजार ५२९ पुगेको तथ्यांकमा उल्लेख छ ।

बीमाको पहुँचसम्बन्धी यो तथ्यांक सरकारले लिएको लक्ष्यभन्दा बढी हो। सरकारले चालू आवको असार मसान्तभित्र ३३ दशमलव ३३ प्रतिशत नेपालीमा जीवन बीमाको पहुँच विस्तार गर्ने लक्ष्य लिएको थियो । तर, पुस मसान्तभित्र नै बीमाको पहुँच ३५ प्रतिशत नेपालीमा पुगेको समितिको तथ्यांकले पुष्टि गरेको छ।

चालू आवको असार मसान्तसम्ममा ४० प्रतिशत नेपालीमा बीमाको पहुँच पुग्ने समितिको अनुमान छ।

सम्भावित दोहोरोपन हटाएर त्यस बराबरको जनसंख्यामा बीमाको पहुँच पुगेको समितिको भनाइ छ । एउटै व्यक्तिले पनि २ वा त्यसभन्दा बढी पटक बीमा गरेका पनि हुन्छन् । सोही अवस्थालाई दृष्टिगत गर्दै कुल बीमालेखमा ५ प्रतिशत घटाएर बीमाको गणना गर्ने अन्तर्राष्ट्रिय अभ्यास छ। यसैअनुसार बीमाको पहुँच गणना गरिएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए।

समितिका अनुसार हालसम्म १ करोड १० लाख ४१ हजार ८८ वटा जीवन बीमालेख जारी भएका छन् । त्यसमा ५ प्रतिशत बीमालेखको संख्या घटाएर यस्तो गणना गरिएको पौडेलको भनाइ छ।

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक जनसंख्या (२ करोड ९१ लाख) को आधारमा ३६ प्रतिशतभन्दा बढी नेपालीमा बीमाको पहुँच पुगेको देखिन्छ। तर, जनगणनाको अन्तिम तथ्यांक सार्वजनिक भएपछि मात्रा सोहीअनुसार बीमाको पहुँच गणना गरिने समितिको भनाइ छ।

नेपालमा जीवन बीमा व्यवसाय शुरू भएको झन्डै ५ दशक भएको छ। तर, लामो समयसम्म यसको दायरा बढ्न भने सकेको थिएन। तर, पछिल्ला ४/५ वर्ष यता भने बीमाको बजारसँगै पहुँच पनि ह्वात्तै बढेको छ। ५ वर्षअघि बीमाको पहुँच ७ प्रतिशत नेपालीमा मात्र पुगेको थियो।

पछिल्लो समय म्यादी बीमा गर्ने व्यक्तिको संख्या उच्च मात्रामा बढेको छ। पछिल्लो १ वर्षमा यस्तो बीमा गर्ने व्यक्तिको संख्या झन्डै ४५ प्रतिशतले बढेको छ। सावधिक बीमा गर्ने व्यक्तिको संख्या पनि उच्च मात्रामा बढेको छ। फलस्वरूप बीमाको पहुँच पनि उच्च मात्रामा बढेको पौडेलले बताए।अभियान दैनिकबाट

Logo