राष्ट्र बैङ्कको पाँच वर्षे रणनीतिमा के छ?

राष्ट्र बैङ्कको पाँच वर्षे रणनीतिमा के छ?

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्र बैङ्कले पाँच वर्षे रणनीतिक योजना तयार गरेको छ। सन् २०२२ देखि २०२६ सम्मका लागि उक्त रणनीतिक योजनाले केन्द्रीय बैङ्कको आगामी पाँच वर्षको समग्र कार्य र रणनीति तय गरेको छ। सन् २००६ देखि रणनीतिक योजना बनाउन थालेको राष्ट्र बैङ्कको यो चौंथो रणनीतिक योजना हो ।

यो रणनीतिक योजना आगामी पाँच वर्षका लागि राष्ट्र बैङ्कको ‘रोडम्याप’ हुने राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले उल्लेख गरेका छन्। केन्द्रीय बैङ्कले बैङ्किङ पद्धतिप्रतिको विश्वासलाई पुनर्स्थापना गर्न, राष्ट्रले अपेक्षा गरेअनुसार अन्तर्राष्ट्रिय समुदाय र विकास साझेदारसँग प्रभावकारी संयोजन गर्न र बैङ्किङ, वित्तीय र बाह्य क्षेत्रसँगको स्थायित्व कायम गर्न अवलम्बन गर्नुपर्ने विशेष र नवप्रवर्धनात्मक उपाय यो रणनीतिक योजनामा समेटिएको छ।

रणनीतिले परिलक्षित गरिएको आधारमा नै राष्ट्र बैङ्कले आगामी दिनमा आफ्ना काम कारबाहीलाई अगाडि बढाउने नेपाल राष्ट्र बैङ्कका प्रवक्ता गुणाकर भट्टले बताए । यो योजनाले सात रणनीतिक खम्बा र १८३ कार्ययोजनालाई समेटेको छ। रणनीतिक योजनाअनुसार राष्ट्र बैङ्कले आगामी पाँच वर्षमा भूकम्पले भत्काएको केन्द्रीय बैङ्कको भवन निर्माण सम्पन्न हुने, मुद्रा व्यवस्थापनको आधुनिकीकरण गर्ने, थोत्रा नोट धुल्याउने नयाँ प्रविधिलाई प्रयोगमा ल्याइने लक्ष्य बनाएको छ। त्यस्तै विद्युतीय कारोबारको प्रवर्द्धन गर्ने, नेसनल पेमेन्ट स्विच कार्यान्वयनमा ल्याइनेलगायतका उपलब्धि हासिल हुने विश्वास लिएको छ।

पाँच वर्षे रणनीतिअन्तर्गत आर्थिक अनुसन्धान र मौद्रिक व्यवस्थापन, नियमन र अनुगमन, बाह्य क्षेत्रको व्यवस्थापन, भुक्तानी प्रणाली र मुद्राको व्यवस्थापन, सुशासन साङ्गठनिक विकास र बौद्धिक व्यवस्थापन, पूर्वाधार र व्यवसायको निरन्तरता र सहकार्य र संयोजन गरी सात रणनीतिक खम्बा तयार गरिएको छ। आर्थिक अनुसन्धान र मौद्रिक व्यवस्थापन रणनीतिले राष्ट्र बैङ्कलाई तथ्याङ्कगत आधारमा बलियो बनाउँदै सबुत प्रमाणमा आधारित भएर नियमनकारी र अनुगमनकारी भूमिकालाई थप सबल बनाउने बताइएको छ।

त्यस्तै अन्तर्राष्ट्रियस्तरका असल प्रयोगलाई अवलम्बन गर्दै नियमन र अनुगमन गर्न सहयोग पुग्नेगरि रणनीति बनाइएको छ। बाह्य क्षेत्र व्यवस्थापनमार्फत अन्तर्राष्ट्रिय भुक्तानीलाई सहज बनाउन विदेशी विनिमयलाई प्रभावकारी बनाउनुका साथै अन्तर्राष्ट्रिय प्रतिस्पर्धालाई नियमितरूपमा निगरानी गर्न सक्ने राष्ट्र बैङ्कले जनाएको छ।

बैङ्कले नोट तथा सिक्काको मागलाई प्रक्षेपण गर्दै पर्याप्त आपूर्ति गर्ने व्यवस्थाका साथै आधुनिक पूर्वाधार र प्रभावकारी अनुगमन गर्ने रणनीति तय गरिएको छ। त्यस्तै सफा नोटको प्रवाहलाई जोड दिने, अत्याधुनिक प्रविधिको प्रयोग गर्दै वातावरणमैत्री तरिकाबाट झुत्रा नोटको व्यवस्थापन रणनीतिमा समेटिएको छ।

सुशासन, सङ्गठनात्मक विकास र प्रतिभा प्रवद्र्धनका लागि राष्ट्र बैङ्कले जोखिममा आधारित आन्तरिक लेखा परीक्षण गर्ने, सुशासन कायम गर्दै पारदर्शिता, जवाफदेहिता र स्रोतको प्रभावकारी व्यवस्थापनमा जोड दिने रणनीति बनाएको छ। सहकार्य र सहसंयोजनका लागि समकक्षी सिकाइलाई जोड दिने, सूचना आदानप्रदानलाई प्रभावकारी बनाउने रणनीति केन्द्रीय बैङ्कले तय गरेको छ।गाेरखापत्रबाट

Logo