काठमाडौंका धारामा आइतबारबाट मेलम्ची पानी, चैत २० मा राष्ट्रपतिले उद्घाटन गर्ने

काठमाडौंका धारामा आइतबारबाट मेलम्ची पानी, चैत २० मा राष्ट्रपतिले उद्घाटन गर्ने


बहुप्रतीक्षित मेलम्ची पानी काठमाडौंवासीका धारामा बल्ल झर्ने भएको छ। सरकारले आइतबारदेखि काठमाडौंका धारामा मेलम्ची पानी छाड्ने तयारी गरेको हो। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) खुमलटार, मीनभवन, महांकाल र अनामनगरस्थित ओभर हेड ट्यांकीमा ४ करोड लिटर पानी भरेर वितरण सुरु गर्न लागिएको छ।

आगामी २० चैतमा राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची पानी कार्यक्रम उद्घाटन गर्ने तयारी छ। उनीबाट भृकुटी मण्डपस्थित जडित नयाँ धाराको टुटी खोलेर मेलम्ची पानी उद्घाटन गरिंदै छ । त्यसअघि नै आइतबारदेखि मेलम्ची उपआयोजना अन्तर्गत आयोजना निर्देशनालयले १५ चैतमा ४ करोड लिटर पानी छाड्ने छ। यसको दुई दिनपछि सुन्दरीजल र बालाजु बीडीएसमा पानी छाड्ने तयारी गरिएको छ।

त्यसदिन सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रबाट दैनिक साढे ६ करोड लिटर पानी छाडिनेछ। आगामी २१ चैतमा पानीपोखरी र बाँसबारीस्थित ओभरहेड ट्यांकीमा दैनिक साढे ८ करोड लिटर पानी छाडेर सो प्रणालीबाट वितरण हुने क्षेत्रका उपभोक्ताका घरमा पानी आपूर्ति हुनेछ।

दुई सातापछि भने भक्तपुरमा मेलम्ची पानी छाडिने जनाइएको छ। पानी वितरणका लागि निर्देशनालयले ३० हजार नयाँ धारा जडान गरेको छ भने अन्य ठाउँमा केयूकेएलको पुरानो पाइपमार्फत परीक्षण गर्दै पानी आपूर्ति तयारी गरिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मात्र आइतबार मेलम्ची पानी काठमाडौंवासीका धारामा छाड्ने जानकारी गराएका थिए । एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा उनले सरकारले उल्लेख्य प्रगति गरेको जनाउँदै मेलम्ची पानी काठमाडौंवासीका घरका धारामा छाडिने बताएका थिए।

मेलम्ची खानेपानी आयोजनाले १० पोखरीमध्ये ९ वटाको काम सम्पन्न भइसकेको जनाएको छ। यसअघि, गत २२ फागुनमा मेलम्चीबाट सुरुङमा खसालिएको पानी परीक्षण गरिएको थियो। परीक्षणका लागि गत १० फागुनमा सुरुङमा खसालिएको सिन्धुपाल्चोकस्थित मेलम्ची खानेपानी आयोजनाको पानी २२ फागुनमा काठमाडौंको सुन्दरीजल आइपुगेको थियो।

सो पानी प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटन थिचेपछि सुरुङमा हालिएको पानी सुन्दरीजलमा खसेको थियो। सोही पानी सुन्दरीजलमा रहेका दुई प्रशोधन केन्द्रमा खसालेर वितरण प्रणालीमार्फत बाँड्ने तयारी गरिएको हो।राजधानीबाट

Logo