नौपटक सर्वोच्च शिखर सगरमाथा चढेका पासाङ दावा शेर्पा आरोहीकाे जीवनदाता

नौपटक सर्वोच्च शिखर सगरमाथा चढेका पासाङ दावा शेर्पा आरोहीकाे जीवनदाता

केन्द्रबिन्दु
0
Shares

सोलुखुम्बुका ३७ वर्षीय पासाङ दावा शेर्पाले नौपटक सगरमाथाको सफल आरोहण गरिसकेका छन्। २२ वर्षको उमेरदेखि सगरमाथा क्षेत्रमा आरोहण सहयोगीका रूपमा काम गरेका उनी अहिले लगातार आरोहण गरिरहेका छन्। 

१२ पटक चढ्ने प्रयास गरेका उनी नाैपटक सफल भएका छन्। पहिला उनी विदेशीलाई हिमाल चढ्न सघाउँथे। ‘क्लाइम्बिङ गाइड’का रूपमा काम गर्न थालेको वर्ष दिनपछि सन् २००९ मा शेर्पा आफैँ पहिलोपल्ट सर्वोच्च शिखरमा पाइला टेक्न सफल भएका थिए। त्यसयता पासाङले नौपटक सगरमाथाको सफल आरोहण गरिसकेका छन्। उनी भन्छन्- ‘‘शिखरमा पुग्ने प्रयास १२ पल्ट गरेको थिएँ तर नौपल्ट सफल भएँ।’’

आरोहीका जीवनदाता

पासाङले हिमाल आरोहणलाई कीर्तिमानमा मात्रै सीमित गरेका छैनन्। आरोहणका क्रममा अरूको जीवनरक्षकको भूमिकासमेत निर्वाह गर्दै आएका छन्। सन् २०१९ मा अन्तिमपटक सगरमाथा चढेका उनले २ दिनलगत्तै ८ हजार ७ सय मिटरबाट भारतीय आरोही महिलाको शव निकालेर काठमाडौं ल्याएका थिए। उनले केहीपटक विदेशी आरोहीलाई बचाए । भारतका एक आरोहीलाई मृत्युको मुखबाट खोसेर जीवनदाता बने। सन् २०१२ मा उनीसहितको टिम शिखरको छेउमै पुगेर फर्किनुपर्‍यो। अरूको अक्सिजन मास्क बिग्रिएपछि बचाउन आफ्नो मास्क दिए। 

‘‘८ हजार ६ सय मिटरमा पुगेपछि हाम्रो टिमका भारतीय आरोहीको अक्सिजन मास्क बिग्रियो। उनी तड्पिन थालेपछि मैले आफ्नो मास्क दिएँ र हामी त्यहीँबाट फर्कियौँ, मलाई सास फेर्न असाध्यै गाह्रो भएको थियो। तर, मैले मास्क दिएकाले ती भारतीयलाई जीवितै फर्काउन सफल भयौँ’’, पासाङ दावाले सुनाए। 

‘उनी तड्पिन थालेपछि मैले आफ्नो मास्क दिएँ र हामी त्यहीँबाट फर्कियौँ, मलाई सास फेर्न असाध्यै गाह्रो भएको थियो। तर, मैले मास्क दिएकाले ती भारतीयलाई जीवितै फर्काउन सफल भयौँ’’

पासाङ सन् २०१३ मा उनीहरू तिब्बततिरबाट हिमाल चढेका थिए। शिखरमा पुगेपछि ७६ वर्षे जापानी आरोही अक्सिजन सकिएर सिकिस्त भए। पासाङको टिमले उसैगरी आफ्नो अक्सिजन मास्क दिएर तलसम्म झारे। तर ८ हजार ५ सय मिटरसम्म ल्याइसकेपछि जापानी आरोहीले अन्तिम सास फेरे।

कूटनीतिमा समेत सघाउ

उनले देशको कूटनीतिमा समेत सघाउ पुग्ने गरी आरोहणका माध्यमले सन्देश प्रवाह गर्ने प्रयास गर्दै आएका छन्। वर्ष दिनअघि सन् २०२२ मा पासाङले अमेरिकाकै अग्लो माउन्ट देनालीको चुचुरोमा नेपाल र अमेरिकाको झन्डा फहराए। दुई देशबीच सम्बन्ध स्थापना भएको ७५ वर्ष पुगेको अवसरमा उनले माउन्ट देनाली शिखरमा दुई देशको झन्डा फहराएका थिए। उनी भन्छन्- ‘‘सम्बन्ध अझ गाढा र मित्रतापूर्ण रहोस् भनेर झन्डा फहराएका हौँ।’’ 

दुई देशबीच सम्बन्ध स्थापना भएको ७५ वर्ष पुगेको अवसरमा उनले माउन्ट देनाली शिखरमा दुई देशको झन्डा फहराएका थिए।

सन् १९४८ नेपाल र अमेरिकाबीच दौत्य सम्बन्ध स्थापना भएको थियो । दुवै देशका नागरिक सम्मिलित आरोहण दलले एकता र मित्रताको सन्देश प्रवाह गरेको उनले बताए। अमेरिकी आरोही मार्क परेला र नेपालका आरोही कर्मा तेन्जिङको नेतृत्वको दलमा पासाङ दावासहित सात नेपाली थिए। उक्त टिमलाई नेपालमैत्री दल नाम दिइएको थियो।

पासाङको हिमाल यात्रा

सन् २००९ मा पहिलोपल्ट हिमाल चढेका उनले पछिल्लोपल्ट सन् २०१९ मा सगरमाथाको सफल आरोहण गरे। २०१० मा २ पल्ट, २०११, २०१३, २०१४, २०१६ र २०१८ मा उनले सगरमाथाको टुप्पोमा टेकेका थिए। पासाङले सन् २०२१ मा दसौंपल्ट सगरमाथाको चुचुरोमा टेक्ने प्रयास गरेका थिए । तर, कोभिड लागेर फर्कनुपर्यो ।

जोखिममा समेत हिमाल आरोहण

शरद (अक्टोबर) मा हिमाल चढ्नु असाध्यै कठिन एवं जोखिमपूर्ण मानिन्छ। सन् २००० पछि कसैले अक्टोबरमा हिमाल चढ्ने आँट गरेको थिएन। तर, शेर्पासहितको टोलीले १५ अक्टोबर २०१० मा सगरमाथाको सफल आरोहण गरेको थियो। नेपाल पर्यटन बोर्डका अनुसार, २९ असोजमा अमेरिकी आरोही एरिक लार्सन नेतृत्वको आरोहण दलले सगरमाथा शिखरमा पाइला टेकेको थियो।

सन् २००० पछि कसैले अक्टोबरमा हिमाल चढ्ने आँट गरेको थिएन। तर, शेर्पासहितको टोलीले १५ अक्टोबर २०१० मा सगरमाथाको सफल आरोहण गरेको थियो।

उक्त टोलीमा पासाङ दावासहित सोलुखुम्बुका दावागेल्जेन शेर्पा, दोलखाका छिरिङ दोर्जे शेर्पा, खोटाङका निमादोर्जे तामाङ र सङ्खुवासभाका पासाङतेम्बा शेर्पा पनि थिए। त्यसयता पनि कसैले अक्टोबरमा हिमाल चढ्न नसकेको पासाङ दावाले बताए। अक्टोबर २०२२ मा संयुक्त इमिरेट्स् अरबको आर्मी टोलीसहित उनले मनास्लु हिमालको शिखर टेक्ने प्रयास गरेका थिए। तर क्याम्प २ सम्म पुगेपछि समस्या भयो र त्यहीँबाट फर्किए। आफूसँग अन्य आरोहीलाई समेत सगरमाथाको सफल आरोहणमा सघाएकोमा उनलाई नेपाल, अमेरिकासहित विभिन्न देश र संघसंस्थाले सम्मान तथा कदर गरेका छन्।

Skip This
Skip This
Logo