आज विश्व शौचालय दिवस मनाइँदै

आज विश्व शौचालय दिवस मनाइँदै

केन्द्रबिन्दु
0
Shares

आज विश्व शौचालय दिवस नेपालमा पनि मनाइँदैछ। हरेक वर्ष नोभेम्बर १९ का दिन संसारभर सफाइ चेत विस्तार गर्न शौचालय दिवस मनाइन्छ। यस वर्ष संयुक्त राष्ट्रसङ्घले विश्व शौचालय दिवसको नारा परिवर्तनलाई बढावा दिऔँ भन्ने राखेको छ।

नेपाललाई २०७६ सालको असोज १३ गते नै खुला दिसामुक्त देश घोषणा गरिएको छ। तर अझै पनि झण्डै साढे ५ प्रतिशत जनसङ्ख्यासँग शौचालयको अभाव छ। सबै जनसङ्ख्यामा शौचालयको पहुँच पुर्‍याइ फोहर पानी र दिसाजन्य लेदो प्रशोधन गरी व्यवस्थापन गर्न सके मात्र खुला दिसामुक्त अवस्थाको दिगोपना हुने सरसफाइ अभियन्ताहरू बताउँछन्।

संयुक्त राष्ट्र सङ्घका अनुसार विश्वका साढे ३ अर्ब मानिसहरू अझै पनि शौचालयको सुविधाबाट वञ्चित छन्। त्यसमध्ये ४१ करोड ९० लाख मानिस अझै पनि खुला ठाउँमा दिसा।पिसाब गर्दछन् । खुला दिसा र पिसाबका कारण फैलने रोगले विश्वमा दैनिक एक हजार बालबालिकाको मृत्यु हुने गरेको छ।

खुला ठाउँमा दिसा पिसाब गर्नाले यसले खानेपानीका स्रोत, मुहान, खोला, नाला, नदी प्रदूषित गराउने र त्यसबाट हैजा, टाइफाइड, झाडापखाला जस्ता रोग फैलिन गई आम नागरिकको स्वास्थ्यलाई असर पार्ने भएकाले शौचालय निर्माण र उपयोगको कार्यलाई प्राथमिकता दिने गरिएको छ।

नेपालले आधारभूत सरसफाइमा प्रगति हासिल गरे पनि सुरक्षित रूपमा व्यवस्थापन गरिएको सरसफाइमा भने नेपालको प्रगति कमजोर रहेको विज्ञहरू बताउँछन्।

आउँदा दिनमा विभिन्न कारणले शौचालयको सुविधा नपुगेको जनसङ्ख्यामा शौचालय निर्माण गर्ने र शौचालयको सेप्टिक ट्याङ्की भरिएपछि सुरक्षित तरिकाले खाली गरी ढुवानी एवं प्रशोधन गरी पुनः प्रयोग वा सुरक्षित व्यवस्थापन गर्नुपर्ने विज्ञहरूको सुझाव छ।

नेपालमा झण्डै ११ प्रतिशत जनसङ्ख्याको शौचालय ढल प्रणालीमा जडान गरिएको सरकारी तथ्याङ्क छ। ती मध्ये झण्डै ३ प्रतिशत जनसङ्ख्यामा मात्र प्रशोधन सहितको ढल प्रणालीमा समेटिएको छ। 

Skip This
Skip This
Logo