म्याग्दीका एक दम्पतीले नेत्र ज्योति सङ्घ, बेनीलाई रु दुई करोड ५० लाख बराबरको जग्गा निःशुल्क प्रदान गरेका छन्। पूर्वाधारको अभावमा भाडा तिरेर सेवा दिइरहेको सङ्घलाई मालिका गाउँपालिका-६ दिच्यामका मुक्ति रोका र याममाया रोकाले जग्गा दान गरेका हुन्।
रोका दम्पतीले सङ्घलाई बेनीबजारस्थित कालिपुलको सात आना एक पैसा तीन दाम क्षेत्रफलको जग्गा दान गरेका छन्। शुक्रबार बेनीमा आयोजित कार्यक्रममा रोका दम्पतीले सङ्घका सभापति अमर बानियाँलाई सो जग्गाको लालपुर्जा हस्तान्तरण गरे।
हाल क्याम्पसचोकमा भाडाको कार्यालयबाट सेवा प्रदान गरिरहेको सङ्घलाई आफ्नै भवन निर्माणका लागि सहज भएको छ। सङ्घको भवन निर्माणका लागि पनि सक्दो आर्थिक सहयोग गर्ने रोका दम्पतीले वाचा गरेका छन्।
यसअघि जग्गादाता रोकाले २०६६ सालमा आफैँले नेतृत्व गरेर हिमालयन आँखा अस्पतालसँग समन्वय गरी बेनीको रेडक्रस भवनमा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएका छन्।





























प्रतिक्रिया