कोशी नामकरणको विरुद्ध आन्दोलन गरिरहेका पहिचानवादी समूहले मेची राजमार्गमा सवारी साधन आवतजावतमा रोक लगाएका छन्। ‘प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समिति’ ले बन्दका क्रममा पक्राउ परेका कार्यकर्ता रिहाईको माग गर्दै मेची राजमार्गमा यातायात सेवा अवरुद्ध पारेको हो।
संघर्ष समितिले ‘बुलेट किराती’(अन्जेश राई) को रिहाईको माग गर्दै मंगलबार र आज मेची राजमार्ग बन्दको आह्वान गरेको जनाएको छ।संघर्ष समितिले आह्वान गरेको मेची राजमार्ग बन्दका कारण झापादेखि इलाम, पाँचथर र ताप्लेजुङ जाने सार्वजनिक यातायातका सवारी साधन चलेका छैनन्। तर निजी तथा साना सवारीहरु संचालन भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए।
सो स्थानमा आन्दोलनकारीहरु बिहानै सडकमा निस्किएर टायर बालेर सवारीसाधन बन्द गराउँदै हिँडेका छन्। सवारी साधन नचल्दा यात्रुहरु प्रभावित बनेका छन्।
किरातीलाई गत पुष १ गते संघर्ष समितिले आह्वान गरेको यातायात बन्दका क्रममा इलामको मेची राजमार्गको जोर कलश खण्डमा पराल बोकेको पिकअप गाडीमा आगजनी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। आगजनी सम्बन्धी मुद्दा दर्ता गरिएको उनलाई मंगलबार अदालतमा उपस्थित गराएको जनाइएको छ।





























प्रतिक्रिया