काठमाडौँ उपत्यकाका ५३ वटा भवन र चार पुल भूकम्पीय उच्च जोखिममा रहेका छन्। मंगलबार २६ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस कार्यक्रममा बोल्दै उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले उपत्यकामा ५३ वटा भवन र चार सडक पुल भूकम्पीय जोखिममा रहेको जानकारी दिए।
तर, सरकारले अहिलेसम्म ती संरचनाको पुननिर्माणको प्रक्रिया भने अघि बढाएको छैन। उनका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले यससम्बन्धी अध्ययनका आधारमा काठमाडौँ उपत्यकाका ५३ वटा भवन संरचना र चार वटा सडक पुल भूकम्पीय जोखिमका हिसाबले संवेदनशील अवस्थामा रहेका छन्।
तिनको पूर्णनिर्माणलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने अध्ययनको निष्कर्ष छ। ‘राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जापान सरकारको सहयोगमा गरेको एक अध्ययनले काठमाडौँ उपत्यकामा विद्यालय,अस्पताल र सरकारी भवन गरी ५३ वटा भवन संरचना र चारवटा सडक पुल भूकम्पीय जोखिमका हिसाबले संवेदनशील अवस्थामा रहेको र त्यसको प्राथमिकतामा राखि पुर्ननिर्माण गर्नुपर्ने देखाएको छ,’श्रेष्ठले भने।
ती पूर्वाधार पूर्ननिर्माणका लागि करिब ३ अरब ६१ करोड रुपैयाँ खर्च हुने प्राधिकरणको अनुमान छ। जसमा ३२ वटा विद्यालय भवनको लागि एक अरब ६३ करोड, १३ वटा स्वास्थ्य चौकीको लागि ३८ करोड ७४ लाख रुपैयाँ, ८ वटा सरकारी भवनको लागि ५१ लाख ८० लाख रुपैयाँ र ४ वटा सडक पुलको लागि १ अरब ७ करोड आवश्यक पर्ने प्राधिकरणको अनुमान छ।
तीमध्ये पनि काठमाडौँ महानगर भित्रमात्रै ९ ओटा भवनको लागि ७१ करोड ३५ लाख र ४ वटा पुलको लागि ४ अरब ७ करोड रुपैयाँ लागत लाग्ने अध्ययनको निष्कर्ष छ। कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उप–प्रमुख सुनिता डंगोलले भूकम्पीय जोखिमलाई ध्यानमा राखेर महानगरले पूर्वतयारीलाई प्राथमिकतामा राखेको जानकारी गराइन्।
उनले भूक्मपलगायतका जोखिमबाट जोगिनलाई संघ,प्रदेश र स्थानीय सरकारले मिलेर काम गर्नुपर्नेमा जोड दिइन्। डंगोलले देशैभरिका विद्यालयहरुलाई भूकम्पको जोखिमुक्त गराउन रेट्रोफिटिङको कार्य सुरु गर्नुपर्ने बताइन्।
‘काठमाडौँ महानगरपालिकाको विद्यालय मात्र नभएर देशैभरिका विद्यालयलाई भूकम्पको जोखिमबाट बचाउनको लागि रेट्रोफिटिङको काम हामीले थाल्नुपर्ने छ। त्यसका लागि स्थानीय सरकारको स्रोतले मात्र नपुग्न सक्छ। महानगर र अन्य पािलकाको स्रोत हेर्ने हो भनेपनि अवस्था फरक छ। विद्यालयलाई पहिलो प्राथमिकतामा राखेर हामीले भूकम्पलगायतका विपद्बाट थेग्ने संरचना निर्माण गर्न विद्यालयबाट सुरु गरौं,’ डंगोलले भनिन्।































प्रतिक्रिया