आगामी वैशाख ८ गते ‘काठमाडौं पिंक केयरएथन’ आयाेजना हुने

आगामी वैशाख ८ गते ‘काठमाडौं पिंक केयरएथन’ आयाेजना हुने

केन्द्रबिन्दु
98
Shares

लेजर पोर्ट नेपालले नेपाल प्रहरी श्रीमती संघसँगको सहकार्यमा आगामी वैशाख ८ गते ‘काठमाडौं पिंक केयरएथन’ गर्ने भएको छ। महिलाहरूको स्वास्थ्य एवं फिटनेशमा सचेतना जगाउन यो कार्यक्रम गर्न लागिएको हो ।

काठमाडौं पिंक केयरएथनमा महिलाहरुको दौड, जुम्बालगायतका विभिन्न कार्यक्रम आयोजना हुनेछन्।

यसअघि पिंकाथलनको नामबाट यो कार्यक्रम हुँदै आएको थियो। यसपटक पिंक केयरएथनमा ३ किलोमिटर, ५ किलोमिटर र १० किलोमिटरको दूरी तय गरिएको छ। काठमाडौँ पिंक केयरएथनको यस संस्करणमा भारतका चर्चित टेलिभिजन प्रस्तोता एवं कलाकार जय भानुशालीले सञ्चालन गर्नेछन्।

जुनसुकै उमेर समूहका महिलाहरुले सहभागिता जनाउन सक्ने यो इभेन्टको मुख्य उद्देश्य सधैं घरायशी काम र दैनिकीमा व्यस्त रहने महिलाहरुलाई आफ्नो स्वास्थ्यको लागि पनि समय निकाल्न प्रेरित गर्नु रहेको आयोजक संस्था लेजर पोर्ट नेपालका अध्यक्ष नमराज जोशीले बताए ।

आयोजकले काठमाडाैंमा आयोजना गरेको पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार पिंक केयरएथनमा यसपटक २५ सयदेखि ३ हजार महिला सहभागी हुने अपेक्षा गरिएको छ।

महिला स्वास्थ्य, सचेतना र लोक कल्याणको क्षेत्रमा विविध कार्यक्रम गर्दै आएको नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी पराजुली कुँवरले यस कार्यक्रमले महिलाहरुलाई आफ्नो र आफ्नो परिवारको स्वस्थ जीवनशैली अपनाउन प्रोत्साहित गर्ने बताइन्।

सहभागी हुन चाहने महिलाहरुले ई-सेवाबाट नाम दर्ता गर्न सक्नेछन्। पिंक केयरएथनको फेसबुक र इन्स्टाग्रामको पेजमा दिइएको जानकारीअनुसार तोकिएका स्थानमा गएर भौतिक रुपमा पनि नाम दर्ता गर्न सकिनेछ।

Logo