कसले काट्यो वार्षिक ३ करोड ठेक्कामा दिइएको बुद्धचित्तको रुख ?

कसले काट्यो वार्षिक ३ करोड ठेक्कामा दिइएको बुद्धचित्तको रुख ?

केन्द्रबिन्दु
154
Shares

काभ्रेपलान्चोकको रोशी गाउँपालिका–५ मा अज्ञात समूहले मध्यरातमा करोडौँ पर्ने बुद्धचित्तको रुख काटेका छन्। ठकुरानी तामाङको बारीमा रहेको बुद्धचित्तको रुख गएराति १ बजेतिर करिब १५/२० जनाको अज्ञात समूह आएर काटेका हुन् ।

प्रहरीका अनुसार बुद्धचित्तको उक्त रूख वार्षिक ३ करोड रुपैयाँ लेनदेन सम्झौतामा बिक्री भइसकेको थियाे । सम्झौता अनुसार, बिक्री भएको रूखमा उत्पादन हुने बुद्धचित्तको दाना उनीहरुले लैजान्थे । अहिले रुखमा फूल फुल्दै थियो तर, फल्नुअघि नै अज्ञात समूहले रूख काटिदिएका हुन् । तामाङ परिवारले गत वर्ष ९० लाख रुपैयाँको दाना विक्री गरी वडालाई करिब ५ लाख रुपैयाँ राजस्व बुझाएको थियाे ।

रुखधनी तामाङका चार जना दाजुभाईमध्ये ३ जना काठमाडौंमा बस्छन्। दाजुभाउजु, बुहारी र दिदी अनि बालबालिका मात्र गाउँमा हुँदा राति अज्ञात समूहले हतियार देखाएर रुख काटेकाे खबर आएपछि प्रहरी तत्कालै घटनास्थल पुगेकाे थियाे । तर, काेही भेटिएनन् । उक्त स्थानमा चार थान सकेट बम र नजिकै जनमुक्ति सेना नेपाल लेखिएको ज्याकेट भने प्रहरीले फेला पारेकाे थियाे ।

प्रहरीले एक जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ । तर, पहिचान खुलाइएकाे छैन । ती व्यक्तिले पनि आफूलाई बुद्धचित्तको रुख बिक्री गर्न घरधनीलाई भनेका थिए । यद्यपी उक्त घटनामा प्रहरीले शंकास्पद व्यक्तिहरुको पहिचानका लागि खोजी कार्य जारी राखेकाे छ ।

बोधिचित्त पनि भनिने बुद्धचित्तको फल बौद्ध धर्मावलम्बीहरुले जप्ने मालामा प्रयोग हुने गर्दछन् । विशेषगरी चिनमा बढी महत्व मानिने यो फल महँगो मूल्यमा बिक्री हुने गर्दै आएको छ ।

Logo