कतारी राजासँगै राखिएको कुमारीको तस्विर रातारात गायव पार्नुकाे कारण के ? [भिडियाेसहित]

कतारी राजासँगै राखिएको कुमारीको तस्विर रातारात गायव पार्नुकाे कारण के ? [भिडियाेसहित]

केन्द्रबिन्दु
154
Shares

नेपाल भ्रमणमा आएका कतारका राजा शेख तमिम बिन हमाद अल थानीको स्वागतमा काठमाडौंका सडकको स्वागतद्वारमा राखिएका कुमारीका तस्बिर सरकारले नै हटाउन लगाएको खुलेको छ ।

मंगलबार कतारी राजातको स्वागतमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि तीनकुने, नयाँ बानेश्वर, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, कालीमाटी, जमल, लैनचौर, त्रिपुरेश्वरलगायत क्षेत्रमा बनाइएका स्वागतद्वारहरुमा कतारका राजासँगै कुमारीको तस्बिर देख्न सकिन्थ्यो । तर, रातारात कुमारीका तस्बिर नै गायब भएपछि विभिन्न टिकाटिप्पणी भएका थिए । कसले हटायो भन्ने प्रश्न उठेको थियो । अन्ततः सरकारले नै हटाउन लगाएको खुलेको हो ।

गैरआवासीय नेपाली सङ्घ, नेपालस्थित कतार राजदूतावास तथा विभिन्न संघसंस्थाको पहलमा बनेका स्वागतद्धारका कुमारीका तस्बिर परराष्ट्र मन्त्रालयको निर्देशनमा हटाइएको हो । नेपालमा कुमारीलाई ‘जीवित देवी’ का रूपमा पूजा गर्ने गरिन्छ ।

कुमारीले विदेशी राष्ट्रप्रमुखलाई अभिवादन गरिरहेको तस्बिरप्रति विशेषतः नेवार सम्प्रदायबाट विरोध भएको थियो । भगवानकै रूपमा सम्मान गरेर सबैले ढोग्ने कुमारीले एक विदेशी नागरिकलाई ढोगेको देखाइएकोमा आपत्ति जनाइएको थियो । परराष्ट्र मन्त्रालयमा समेत यो विषयमा उजुरी पुगेको बुझिएको छ । त्यसपछि हटाइएको हो ।

यस विषयमा काठमाडौं महानगरपालिकाले पनि चासो राखेको थियो । हाल कुनै पनि स्वागतद्वारमा कुमारीको तस्वीर देखिँदैन । उनको तस्विर भएको ठाउँमा रंग पोतिएको छ ।

Logo