आगलागीबाट ७९ घर जले, एकको मृत्यु

आगलागीबाट ७९ घर जले, एकको मृत्यु

केन्द्रबिन्दु
56
Shares

खोटाङ । गत साउनदेखि यही वैशाख १२ गतेसम्म जिल्लाका विभिन्न ठाउँमा भएको आगलागीबाट ७९ वटा घर लजेर नष्ट भएको छ भने एकजनाले ज्यान गुमाएका छन्। जिल्लाका विभिन्न एक सय १० वटा स्थानमा भएको आगलागीको घटनामा रु पाँच करोड बढीको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

जिल्लामा भएको आगलागीमा परेर एकजनाको मृत्यु भएको छ भने छजना घाइते भएका छन्। सामुदायिक वनमा लागेको डढेलोबाट रावाबेँसी गाउँपालिका–१ कुभिण्डेस्थित हरमटारका ८५ वर्षीय सिद्धिबहादुर श्रेष्ठको जलेर मृत्यु भएको हो।

स्थानीय मैनाचौर सामुदायिक वन नजिकैको खेतमा झिक्रा तथा पत्कर डढाउन लगाएको आगो अनियन्त्रित भएपछि निभाउने क्रममा श्रेष्ठको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ। विभिन्न समयमा भएका अन्य पाँचजना घाइतेको अवस्था सामान्य रहेको स्थानीयले बताएका छन्।

आगलागीबाट एक सय ७५ वटा चौपाया र एक सय ९५ पक्षी जलेर मरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिए। “जिल्लामा दैनिकजसो आगलागीका घटना भइरहेका छन्। आगलागी नियन्त्रण तथा उद्धारका लागि मातहतका प्रहरी परिचालन गरिएको छ”, उनले भने, “घटनास्थलमा खटिएका प्रहरी आगलागीपीडितलाई सुरक्षित स्थानमा सार्नका साथै थप क्षति हुन नदिन रातभर जाग्राम बस्नुपर्ने बाध्यता छ। जिल्लामा भएका अधिकांश आगलागीका घटना सामुदायिक वनमा लागेको डढेलोबाट हुने गरेको पाइएको छ।”

सामुदायिक वनमा लागेको डढेलो गाउँ पस्दा बुधबारमात्रै बराहापोखरी गाउँपालिका–१ बराहापोखरीमा १३ वटा घर जलेर नष्ट भएको छ। विभिन्न चारवटा सामुदायिक वनमा लागेको डढेलो गाउँमा पस्दा १३ वटा घर, सातवटा मचान, दुईवटा गोठ, एउटा बाख्राखोर र एउटा भान्छाघर जलेर खरानी भएको हो।

बराहपोखरीका आगलागी पीडितको उद्धार, व्यवस्थापन तथा राहत उपलब्ध गराउने काम भइरहेको वडाध्यक्ष ढकबहादुर कार्कीले जानकारी दिएका छन्। वडाध्यक्ष कार्कीका अनुसार दिउँसोको समयमा भएको आगलागीबाट मानवीय क्षति नभएको तथा क्षतिको पूर्ण विवरण आउन बाँकी छ।

यस्तै बुधबार नै दिउँसो स्थानीय ठूलोवन सामुदायिक वनमा लागेको डढेलोले हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेको तल्लोखोक्सेलीका भूपराज आलेमगर र भीमबहादुर बस्नेतको घर तथा नरबहादुर भुजेल, भेषबहादुर भुजेल र पदमबहादुर मगरको गोठ जलेको छ। इलाका प्रहरी कार्यालय हलेसी र प्रहरी चौकी च्यास्मीटारका प्रहरीको टोली आगो नियन्त्रण गरेर फर्किएपछि पुनः हावाहुरीले उडाएको आगोले बस्नेतको घर जलेको वडाध्यक्ष किशोर बस्नेतले बताए।

दश स्थानीय तह रहेको जिल्लामा स्थानीय बासिन्दा आफैँले जानाजान सामुदायिक वनमा डढेलो लगाउँदा आगलागीका घटना हुने गरेको समाचार स्रोतको दाबी छ। हिउँदमा बोटबिरुवाबाट झरेका पातपतिङ्गरले वर्षामा घाँस पलाउन नदिने भएपछि डढाउन स्थानीय बासिन्दा आफैँले सामुदायिक वन क्षेत्रमा आगो लगाउने गरेको पाइएको छ।

सामुदायिक वन तथा आसपासका निजी जङ्गलमा लगाइने आगो नजिकै रहेको गाउँमा पस्दा ठूलोमात्रामा जनधनको क्षति हुनुका साथै अर्बौँको वनस्पति जलेर नष्ट हुने गरेको छ। सामुदायिक वनमा आगजनी गर्ने व्यक्तिलाई सम्बन्धित निकायले अहिलेसम्म कारबाहीको दायरामा ल्याउन सकेका छैनन्।

Logo