दाङमा ३६ कोठे विद्यालय भवन हस्तान्तरण

दाङमा ३६ कोठे विद्यालय भवन हस्तान्तरण

केन्द्रबिन्दु
56
Shares

दाङ । घोराही उपमहानगरपालिका–१५ भरतपुरस्थित पद्मोदय पब्लिक नमूना माविका लागि भारतीय राजदूतावासको सहयोगमा निर्मित ३६ कोठे भवनको शुक्रबार उद्घाटन गरिएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकास चौधरीको अध्यक्षता तथा नेपालस्थित भारतीय राजदूतावासका प्रथम सचिव अविनाशकुमार सिंहको प्रमुख आतिथ्यमा भवन उद्घाटन गरिएको हो।

कार्यक्रममा प्रमुख अतिथि सिंहले युवाको शिक्षाप्रतिको आकाङ्क्षा पूरा गर्न र दूरदराजका नागरिकको जीवन बलियो बनाउन सहयोग पुर्याउने उद्देश्यले भारत सरकारले यस प्रकारको सहयोग प्रदान गर्दै आएको बताए। विकास साझेदार कार्यक्रमअन्तर्गत राजदूतावासले सहयोग गरेको उनको भनाइ थियो।

भारतले नेपालको विकास साझेदारीमा सन् २००३ देखि काम गर्दै आएको छ। उनले विकास साझेदारीका माध्यमबाट अझ परियोजनामा सहकार्य हुने विश्वास दिलाए।

उनका अनुसार लुम्बिनीमा ६१ वटा विद्यालयमा यस प्रकारको सहयोग भइसकेको छ भने दाङमा छ विद्यालयको पूर्वाधारमा लगानी, पाँच वटा स्कुल बस सहयोग गरेको जानकारी गराउँदै उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको बताए। प्रदेशभर एक हजार नौवटा एम्बुलेन्स, तीन सय वटा स्कुल बस प्रदेश भर सहयोग भएको पनि उनले बताए।

कार्यक्रममा जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासलगायत विविध क्षेत्रमा भारत सरकारले प्रदान गर्दै आएको सहयोगबाट नेपाल र नेपालीको जीवन बदल्न सहयोग मिलेको बताए।

घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले दक्ष जनशक्ति उत्पादनमा लागेको विद्यालयको भौतिक पूर्वाधार विकासमा भारत सरकारले गरेको सहयोग प्रशंसनीय रहेको बताए। उनले भारतीय शिक्षकले दाङमा आएर अध्यापन गरेको स्मरण गरे।

प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले शैक्षिक उन्नयनका लागि प्राप्त भएको विद्यालय भवनको सही सदुपयोग हुनु प्रभावकारी देखिएको बताए। विद्यालयलाई यसबाट थप शैक्षिक गुणस्तर कायम गर्दै अघि बढ्न सुझाव दिए।

भारत सरकारको रु दुई करोड ६८ लाख लागतमा २०६४ मा शिलान्यास भई २०६६ मा सम्पन्न भएको उक्त विद्यालयको करिब १७ वर्षपछि उद्घाटन गरिएको छ। हाल उक्त भवनमा कक्षा ११ र १२ का विज्ञान, व्यवस्थापन र शिक्षा सङ्कायका दुई हजार पाँच सयभन्दा बढी विद्यार्थीले पठनपाठन गर्दै आएका छन्।

Skip This
Logo