काठमाडौँ । आज सेप्टेम्बर ७ का दिन नेपालसहित विश्वभर १६ औँ अन्तरराष्ट्रिय गिद्ध सचेतना दिवस मनाइँदै छ । चुच्चो, नाङ्गो तथा लामो गर्धन देख्दा घिनलाग्दो र भद्दा जिउडाल रहे पनि गिद्ध पर्यावरणका लागि ठूलै भूमिका भएको पक्षी हो ।
प्रकृतिको कुचीकार मानिने गिद्धले जनावरको सिनो र फालेको मासुजन्य फोहोर पदार्थ खाएर वातावरणलाई प्रदूषणमुक्त, दुर्गन्धमुक्त तथा रोगमुक्त बनाउन महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । मांसाहारी जीवले करिब २६ प्रतिशत मात्र सडेगलेका मासु र कंकाल खान्छन् । तर, गिद्धले अधिकांश सडेगलेका मासु र कंकाल खाएर वातावरणलाई प्रदूषणमुक्त बनाउन मद्दत गर्छ ।
सन् १९९० को दशकमा नेपाल र भारत लगायत दक्षिण एसियाली मुलुकमा अप्राकृतिक र नाटकीय रूपमा ९१ प्रतिशतभन्दा बढी गिद्धको सङ्ख्यामा गिरावट आएको थियो । गिद्ध विनाशको कारक बनेको पशु उपचारमा प्रयोग गरिने पीडानाशक डाइक्लोफेनेक औषधिको नेपालमा २०६३ को जेठ २३ देखि प्रतिबन्ध लागेपछि गिद्ध ह्रास हुने क्रम घटेको हो ।
यसले आफैँ सिकार गर्दैन र मरेका जनावरको मासु अर्थात् सिनो खान्छन् । नेपालमा ९ प्रजातिको गिद्ध पाइन्छन् । मानिसभन्दा आठ गुणा टाढासम्म देख्ने गिद्धले औसत तीन दिनमा एक केजी सिनो खान्छ । सिनोको खोजीमा गिद्ध ३ सय किलोमिटर टाढासम्म उड्छ ।
धार्मिक र सांस्कृतिक आस्थासँग जोडिएको गिद्धलाई धार्मिक मान्यता अनुसार शनि देवताको वाहनका रूपमा पनि पुजिन्छ । रामायणमा रावणले सीतालाई हरण गरी लंका लैजाँदा सीतालाई जोगाउन गिद्ध अन्तिम श्वास रहुन्जेल लडेको उल्लेख छ ।
गिद्ध पारिस्थितिकीय स्वस्थताको सूचक पनि हो । नेपालको हिमाली क्षेत्रमा बस्ने तिब्बतीयन मूलका लामा समुदायले हिमाली क्षेत्रमा मानिसको अन्त्येष्टि गर्ने विधि पुर्याएर शव गिद्धलाई खुवाउने प्रचलन छ ।































प्रतिक्रिया