काठमाडौं । सहकारीको रकम अपचलन, संगठीत अपराध र सम्पत्ति शुद्धीकरण मुद्धामा समातिएका पूर्वगृमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।
मंगलबार कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले कार्तिक १४ गतेदेखि गणना हुनेगरी थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । जिल्ला सरकारी वकिलको कार्यालयमार्फत प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने भन्दै थप २५ दिन माग गरेको थियो, तर अदालतले १० दिन मात्रै समय थप गरेको हो ।
आज लामिछानेको पक्षबाट अधिवक्ताहरू नारायण घिमिरे, नारायण कँडेल, सुशील पन्तलगायतले बहस गर्दै हिरा गर्न माग गरेका थिए भने पीडितको पक्षमा युवराज पराजुली र सरकारी वकिल कार्यालयकी सविता काफ्लेले बहस गरेका थिए । लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्वडीआईजी छविलाल जोशी, उस्तै कसुरमा पक्राउ परेका लीला पछाईं र रामबहादुर खनाललाई १० दिन हिरासतमा राख्न म्याद थप गरिएको हो ।
गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेलाई सहकारीको रकम अपचलन र संगठित अपराधमा गत कात्तिक २ गते पक्राउ परेका थिए । प्रहरीले लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र सहकारीको रकम अपचलनमा एक साथ अनुसन्धान गरिरहेको छ । पोखराको सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको बचत रकम गोर्खा मिडिया प्रालिमा गैरकानुनी रुपमा लगेर दुरुपयोग गरेको आरोप लामिछानेमाथि छ । उक्त सहकारी संस्थाको रु एक अर्ब ५० करोड ९० लाख ३० हजार पाँच सय तीन अपचलन भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । उनले सूर्यदर्शन सहकारीबाटै १ करोड रुपैयाँ लगेर गोर्खा मिडियामै मिलान गरेको पनि छानविन समितिको प्रतिवेदनमा उल्लेख छ ।
लामिछानेलाई सुरुमा ६ दिन र त्यसपछि ७ दिन अदालतबाट म्याद थप गरिएको थियो । कात्तिक १५ मा म्याद सकिए पनि तिहार बिदाका कारण त्यसबीचको ५ दिनमा अदालत लगिएको थिएन । र आज तेस्रो पटक म्याद थपिएको हो । तर, आफ्नो बयानमा लामिछानेले सहकारी ठगीमा संलग्नता अस्वीकार गरेका छन् । गोरखा मिडियामा रकम व्यवस्थापन र परिचालन आफूले गर्ने नगरेको उल्लेख गर्दै उनले सूर्य दर्शनको सञ्चालक समिति, लेखा समिति, सेयर सदस्य कतै नभएकाले ऋण लिने कुरै नहुने बयान दिएका छन् ।































प्रतिक्रिया