काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राज्य अमेरिकाको म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीमा अध्ययनरत प्रज्ञा न्यौपानेलाई नेपाल फर्कन आह्वान गरेका छन् ।
प्रधानमन्त्री ओली अमेरिका भ्रमणमा रहँदा हार्वर्ड केनेडी स्कूलमा आयोजित ‘नेपालको विद्यमान शासन तथा विकास’ शीर्षककाे संवाद कार्यक्रममा न्यौपानेको सक्रिय सहभागिता र बहुमूल्य सुझावहरूको सराहना गर्दै उनले नेपाल फर्कन आह्वान गरेका हुन् ।
‘तपाईंजस्ता अध्ययनशील तथा सकारात्मक विचार भएका व्यक्तिहरूले नेपालको दीगो विकासका लागि गर्न सक्ने योगदानले नेपालका आउने दिनहरुप्रति ठूलो आशा र विश्वास जगाएको छ । नेपालमा सूचना तथा सञ्चार प्रविधि मार्फत दीगो, फराकिलो र समावेशी आर्थिक सामाजिक विकास गर्ने सरकारको नीति रहेको छ । सूचना प्रविधिको उपयोग, विकास र विस्तारका साथै हालैका प्रगतिहरूसँग सम्बन्धित नयाँ सम्भावना र चुनौतीहरूको सम्बोधनका सन्दर्भमा तपाईंको बहुमूल्य सुझावहरूको लागि हृदयदेखि नै आभार व्यक्त गर्दछु।’ पत्रमा उल्लेख छ ।
नेपालमा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा योगदान पुर्याउने उद्देश्यले स्वदेश फर्केर काम गर्न प्रधानमन्त्री ओलीको सुझाव छ ।
‘प्रविधिको क्षेत्रमा राज्यले बनाउनुपर्ने आवश्यक नीति र पूर्वाधार विकासका सम्बन्धमा तपाईंको सुझाव उल्लेखनीय छ। अध्ययन पूरा भएपछि नेपाल फर्केर मातृभूमिको प्रगति र समृद्धिका लागि योगदान दिन म तपाईंलाई हार्दिक रूपमा निमन्त्रणा गर्दछु ।’
उनले थपेका छन्, ‘तपाईंको प्रयास र संकल्पले नेपाललाई थप सम्भावनाको युगतर्फ अघि बढाउन सहयोग गर्न सक्छ।’
धनकुटाकी न्यौपाने हाल म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीमा पूर्ण छात्रावृतिमा अध्ययनरत छिन् । उनी ६ वर्षअघि अध्ययनकै शिलशिलामा अमेरिका पुगेकी थिइन् ।





























प्रतिक्रिया