काठमाडौं । बुधबार महाशिवरात्री । हिन्दु धर्मावलम्बीहरुको लागि महाशिवरात्रि एक महान पर्व हो । यस दिन दिनभर व्रत बसेर रातमा जागा बस्ने प्रचलन छ । यसो गर्दा भगवान शिव प्रसन्न हुने र शिवलाई प्रसन्न राख्न सकेमा मानिसबाट जानी–नजानी गरिएका पाप कर्मको फलबाट मोक्ष प्राप्त हुने जनविश्वास छ ।
चर्चित ज्योतिष, वास्तुविद् एवं न्युमेरोलोजिष्ट डा. प्रकाश पौडेलका अनुसार यसपटक महाशिवरात्रि केही विशेष छ, यो दिन साक्षी सर्वार्थ सिद्धि योग, अमृत योग र श्रवण नक्षत्रको त्रयोदशी प्रदोषको संयोजन बनेको छ, जुन शिवभक्तका लागि निकै फलदायी रहनेछ । यो संयोग अत्यन्तै दुर्लभ हुन्छ । यस संयोगमा भगवान शिवको रुद्राभिषेकको पाठ गर्नुहोस्। शिवले विशेष वरदान दिने विश्वास गरिन्छ ।
पौराणिक मान्यताअनुसार वर्षभर कुनै व्रत नराख्ने व्यक्तिले महाशिवरात्रिमा मात्र व्रत गरेमा वर्षभरी व्रतको पुण्य प्राप्त हुन्छ । शिवरात्रिमा ४ प्रकारको पूजा गर्नु अत्यन्त फलदायी हुन्छ । जसमा पहिलो हो, महाशिवरात्रिको दिन भगवान शिवको अगाडि घ्यूको दियो बाल्नु । यो धेरै शुभ मानिन्छ । महाशिवरात्रिको यस विशेष अवसरमा शिव मन्दिर वा शिवलिंगको नजिक दीप प्रज्वलन गर्नाले घरबाट आर्थिक समस्या हट्नुका साथै घरमा सुख-समृद्धि बढ्ने जनविश्वास रहेको छ । दीप प्रज्वलन गर्दा तपाईको जीवनमा सकारात्मक उर्जा आउँछ ।
यसैगरी शिवरात्रिमा गरिबहरूलाई खाना खुवाउनुहोस्। यसो गर्दा घरमा कहिले पनि अन्नको कमी हुँदैन र पितृको आत्मालाई शान्ति मिल्छ। पानीमा कालो तिल मिसाएर शिवलिंगलाई अभिषेक गर्नुहोस् र ॐ नमः शिवाय मन्त्रको जप गर्नुहोस्। यसबाट मानसिक शान्ति मिल्ने छ ।
शिवरात्रिको दिन आटाबाट ११ वटा शिवलिंग बनाएर ११ पटक जलाभिषेक गर्नुहोस् । यो उपायले सन्तानको योग बनाउने र सन्तान प्राप्ति हुने ज्योतिष डा. प्रकाश पौडेलको भनाई छ ।
शिवलिंगको १०१ पटक जलाभिषेक गर्नुका साथै ॐ हौं जूं सः। ॐ भूर्भुवः स्वः। ॐ त्रयम्बकं यजामहे सुगंधिं पुष्टिवर्धनम्। उर्व्वारुकमिव बन्धानान्मृत्यो मुक्षीय मामृतात्। ॐ स्वः भुवः भूः ॐ। सः जूं हौं ॐ। यो मन्त्र दिनभर जप गर्दा रोग निको पार्न मद्दत गर्छ ।
माछालाई पीठोको गोलो दाना बनाएर खुवाउनुहोस्। यस समयमा भगवान शिवको ध्यान गरिरहनुहोस्। यसले धनसम्पत्ति बढाउँछ तथा राहुको नकारात्मक उर्जा पनि शान्त गर्छ ।
महाशिवरात्रिको दिन घरमा शिवलिंग स्थापना गर्नु धेरै फलदायी मानिन्छ । यसो गर्दा घरबाट आर्थिक समस्या हट्छ र सुख, समृद्धि र ऐश्वर्य बढ्छ । घरमा शिवलिंगको पूजा गर्नाले सकारात्मक उर्जा प्राप्त हुन्छ । पारद शिवलिंगः घरका लागि सबैभन्दा राम्रो मानिन्छ, किनभने यसले सकारात्मक ऊर्जा दिन्छ। घरमा २, ३ इन्चको सानो पारद वा नर्मदेश्वर शिवलिंग राम्रो हुन्छ । ६ इन्चभन्दा ठूलो नराख्नु होला ।
यसैगरी महाशिवरात्रिको दिन दुईवटा मन्त्रको जप गर्नुपर्छ । सर्वप्रथम ‘ॐ नमः शिवाय’ मन्त्र कम्तीमा १०८ पटक जप गर्नुहोस्। यसले व्यवसायसँग सम्बन्धित समस्याहरू हटाउँछ। दोस्रो, महामृत्युञ्जय मन्त्रको जप गर्नुहोस्, यसबाट भगवान शिवको आशीर्वाद घरका मानिसहरूमा रहिरहन्छ र सबै सुखी र स्वस्थ रहन्छन् र अन्त्यमा हनुमान चालिसा एक पाठ गर्नुहोस् ।
महाशिवरात्रिमा रुद्राक्षलाई महत्वपूर्ण मानिन्छ छ। शिवरात्रिमा नयाँ रुद्राक्ष अभिषेक गरी धारण गर्दा उच्च ऊर्जा प्राप्त हुन्छ। सामान्य शिव भक्तका लागि ५ मुखी रुद्राक्ष अभिषेक गर्नु उत्तम हुन्छ । यसैगरी ७ मुखी रुद्राक्ष शनि दोष अर्थात् साढेसाती, महादशा, वा शनि रेखा दोषको शान्तिका लागि प्रभावकारी हुन्छ । ७ मुखी रुद्राक्षले कुबेर र धनको देवतासँग सम्बन्धित हुने भएकाले यसलाई लगाउँदा धन र सम्पत्ति आकर्षित गर्न सहयोग मिल्छ ।
यदि तपाईंको कुण्डलीमा राहु दोष, कालसर्प योग, वा राहु केतु सङ्कट छ भने ८ मुखी रुद्राक्ष लगाउँदा सकारात्मक प्रभाव मिल्छ भने ९ मुखी रुद्राक्ष नवदुर्गाको कृपा शक्ति, साहस, र सुरक्षा केतु ग्रहको शान्तिका लागि उत्तम मानिन्छ । यसैगरी १४ मुखी रुद्राक्ष आत्मरक्षा, शक्ति, र शत्रु नाशकका रुपमा लिइन्छ । यसलाई अजय कवच पनि भनिन्छ, किनकी यसले शत्रु बाधा, नकारात्मक ऊर्जा, र तान्त्रिक आक्रमणबाट रक्षा गर्छ। व्यापार, राजनीति, वा उच्च ओहदामा रहेका व्यक्तिहरूका लागि अत्यन्त लाभदायी हुने चर्चित ज्योतिष डा. प्रकाश पौडेलको भनाई छ ।
डा. पौडेलले न्युमेरोलोजीमा पिएचडी गरिसकेका छन् । उनले वास्तुशास्त्र, केपी नाडी ज्योतिष तथा वैदिक ज्योतिषमा पनि मास्टर गरेका छन् । हाल उनी एस्ट्रो वास्तुमा रिसर्च गर्दैछन् । उनी वर्ल्ड एस्ट्रो फेडेरेशनको सदस्य तथा दक्षिण एसियाली महासंघको केन्द्रीय सदस्य पनि हुन् ।





























प्रतिक्रिया