मिडिया भन्छन्- दुर्गा प्रसाईंलाई पक्राउ गरेर काठमाडौं ल्याइँदै, प्रहरी भन्छ- थाहा छैन

मिडिया भन्छन्- दुर्गा प्रसाईंलाई पक्राउ गरेर काठमाडौं ल्याइँदै, प्रहरी भन्छ- थाहा छैन

केन्द्रबिन्दु
162
Shares

काठमाडौं । यतिबेला राजावादी आन्दोलनका कमाण्डर भनिएका दुर्गा प्रसाईं पक्राउ परेको खबर सर्वत्र चर्चामा छ । सञ्चारमाध्यममा आएअनुसार नेपालको सीमावर्ती क्षेत्रबाट पक्राउ परेका हुन् ।

यद्यपि, प्रसाईंका सहयोगीहरूले भने उनले भारतको आसाम प्रहरीमा आत्मसमर्पण गरेको दाबी गरेका छन् । दुर्गा प्रसाईं नामक फेसबुक एकाउन्टमा उनको सचिवालयले राखेको पोष्टमा भनिएको छ, ‘‘दुर्गा प्रसाईं ज्यूले आफ्नो सुरक्षाको लागि आफैं भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गर्नुभएको छ ।’

चैत १५ गते काठमाडौंको तीनकुनेको हिंसात्मक प्रदर्शनपछि फरार भएका उनलाई पक्राउ गरेपछि आज काठमाडौं ल्याइने खबर पनि छ्यापछ्याप्ती देखिएका छन् । प्रसाईँका आफन्त र शुभ चिन्तकको भिड मेची पुलमा भएपछि प्रहरीले गलगलिया नाकबाट नेपाल ल्याउने गरी रुट परिवर्तन गरेको र गलगलियामा प्रसाईँलाई हस्तान्तरण भएपछि चन्द्रगढी विमानस्थलबाट काठमाडौं ल्याउनेसम्मको खबर बाहिरिएको छ । उनलाई लिन झापाका प्रहरी प्रमुख मिलन केसी गलगलिया हिँडेका छन् ।

तर, यता नेपाल प्रहरीले भने प्रसाईं भारतमा पक्राउ परेको समाचारलाई खण्डन गर्दै भ्रामक समाचार प्रकाशन, प्रसारण नगरिदिन आग्रह गरेको छ । आज मात्रै ‘दुर्गा प्रसाईंलाई काठमाडौं ल्याउने तयारी’सम्मका खबर आउँदा पनि नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले आफूहरुलाई थाहा नभएको प्रतिक्रिया दिएका छन् ।

केन्द्रबिन्दुसँग उनले भने, ‘यो विषयमा अहिलेसम्म कुनै जानकारी छैन । केही अपडेट भए बताउने नै छौं । बाहिर आएका कुरामा सत्यता छैन ।’

गत १५ चैतमा तीनकुनेमा भएको राजवादी आन्दोलनलाई उनै प्रसाईंले हिंसात्मक बनाएको नेपाल प्रहरीको निष्कर्ष छ । प्रहरीलाई नै गाडीले पेलेर अघि बढेका उनी सोही दिन बेलुकादेखि फरार भएका थिए । सो घटनामा संलग्न भएको आरोपमा प्रहरीले राप्रपाका नेताहरू धवलशमशेर राणा, रवीन्द्र मिश्रलगायत सय बढीलाई थुनामा राखी अनुसन्धान गरिरहेको छ । सो प्रदर्शनले हिंसात्मक रुप लिँदा दुई जनाको मृत्यु हुनुका साथै निजी तथा सार्वजनिक सम्पत्तिमा समेत तोडफोड र आगजनी भएको थियो ।

Skip This
Skip This
Logo