काठमाडौं । पत्रकारको पेशागत र भौतिक सुरक्षाको सुनिश्चितताका लागि नीतिगत र संरचनागन सुधार जरुरी रहेको आवश्यकता यस क्षेत्रका विज्ञहरुले औँल्याएका छन् । व्यावसायिक पत्रकारिताको विकास र नागरिकप्रतिको उत्तरदायित्व निर्वाहका लागि स्वयम् पत्रकारले पनि उच्च व्यावसायिक अभ्यास गर्नुपर्ने र यसको प्रवर्द्धन र प्रोत्साहनमा राज्यले विशेष ध्यान दिनुपर्नेमा उनीहरुको जोड छ ।
राष्ट्रिय पत्रकारिता दिवसको सन्दर्भमा कुराकानी गर्दै त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख डा कुन्दर अर्यालले पत्रकारको पेशागत सुरक्षाका लागि लोकतन्त्र बलियो र सुदृढ हुनुपर्ने धारणा राखे । उनले भने, “पत्रकारिताको पेशागत सुरक्षा लोकतान्त्रिकरण हो, लोकतन्त्र बलियो भयो भनेमात्रै पत्रकारिता सुरक्षित र जिम्मेवार हुन्छ ।”
समाजमा जुनसुकैपक्षबाट गरिने दबाब र विरोध प्रदर्शनमा कार्यक्षेत्रमा खटिएका पत्रकार निशामामा पर्ने गरेका छन् । पछिल्ला घटनाक्रम र कार्यक्षेत्रमा भएका पत्रकारमाथिका विभिन्न घटनाले त्यसलाई चित्रित गर्छ । त्यसैले देश, समाज र जनताप्रति उत्तरदायी मर्यादित र जिम्मेवार ढङ्गले सूचना सम्प्रेषित गर्ने पत्रकारको पेशागत सुरक्षाका साथै उनीहरुको श्रमको कदर गर्ने परिपाटीको विकास खड्किएको छ ।
राष्ट्रिय पत्रकारिता दिवस, विश्व प्रेस स्वतन्त्रता दिवस आदि मनाइरहँदा केवल औपचारिकतामा मात्रै सीमित हुने र पत्रकारको पेशागत सुरक्षा र श्रमजीवीको तलब सुविधाको सुनिश्चितातर्फ पनि सबै सरोकारपक्ष जिम्मेवार बन्न जरुरी रहेकामा विज्ञहरु एकमत देखिन्छन् ।
वरिष्ठ पत्रकार एवं नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष तारानाथ दाहालले नेपालमा पत्रकारहरुको पेशागत सुरक्षाको चुनौती बढेको बताए । “अझै पनि पत्रकारहरुको पेशागत सुरक्षाको अवस्था गम्भीर रुपमा छ”, उनले भने, “हामीले पत्रकारका लागि सुरक्षित वातावरणको सुनिश्चित गर्न सकेका छैनौँ । विभिन्न किसिमको भौतिक असुरक्षा र डिजिटल प्रविधिमार्फत पनि पत्रकार असुरक्षित हुने अवस्था रहेको छ ।”
वरिष्ठ पत्रकार दाहालले पत्रकारको पेशागत सुरक्षा, भौतिक र डिजिटल सुरक्षाका लागि बहुसरोकारवाला राष्ट्रिय संयन्त्र र राष्ट्रिय कार्ययोजन जरुरी रहेको खाँचो औँल्याए ।
नेपाल पत्रकार महासङ्घका महासचिव रामप्रसाद दाहालले पनि पछिल्लो समय पत्रकारको पेशागत र भौतिक सुरक्षा निकै चिन्ताजनक अवस्थामा पुगेको बताए । उनले भने, “पत्रकारमाथि कार्यक्षेत्रमै आक्रमण हुने, ज्यान गुमानुपर्ने अवस्था छ । राज्य र गैरराज्यबाट विभिन्न धम्कीलगायत विभिन्न अवरोधहरु झेल्नुपर्ने अवस्था छ । त्यसैगरी पत्रकारहरुको श्रमको मुद्दा झनै पेचिलो बनिरहेको छ । श्रमजीवीले समयमै तलब सुविधा पाउन सकेका छैनन् ।”
महासचिव दाहालले पत्रकारको पेशागत र भौतिक सुरक्षाको सुनिश्चिताका लागि राज्यले नीतिगत सुधार गर्न जरुरी रहेको बताए ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्रकुमार ठाकुरले राज्यको चौथो अङ्गका रुपमा रहेको पत्रकारिता क्षेत्रलाई व्यावसायिक, व्यवस्थित र नागरिकप्रति उत्तरदायी बनाउने दिशामा सबै जिम्मेवार भएर अगाडि बढ्नुपर्ने खाँचो औँल्याए । उनले पत्रकारिताको माध्यमबाटथ सामाजिक, आर्थिक विकासमा योगदान गर्ने व्यक्तिलाई राज्यका तर्फबाट प्रोत्साहन र नयाँ पुस्तालाई यस पेशाप्रति आकर्षित गर्न दिवसका अवसरमा सरकारले हरेक वर्ष सम्मान र पुरस्कारको व्यवस्था गरेको जानकारी दिए ।































प्रतिक्रिया