स्पार्क एड्भेन्चरको तेस्रो संस्करण आयोजना हुँदै, ओझेलका गन्तव्यहरूलाई प्रवर्द्धन गर्ने लक्ष्य

स्पार्क एड्भेन्चरको तेस्रो संस्करण आयोजना हुँदै, ओझेलका गन्तव्यहरूलाई प्रवर्द्धन गर्ने लक्ष्य

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । महानायक राजेश हमाल, अभिनेत्री मनिषा कोइरालालगायत चर्चित कलाकारहरूको उपस्थितिमा स्पार्क एड्भेन्चरको तेस्रो संस्करण आयोजना हुने भएको छ ।

स्पार्क कारको पहलमा हुन लागेको यो एड्भेन्चरको लक्ष्य सोलुखुम्बुको पत्ताले, गौरी टाप र ओखलढुंगाको रुम्झाटार क्षेत्रका कम परिचित तर सुन्दर पर्यटकीय गन्तव्यहरूको प्रचार गर्नु हो ।

वैशाख २६ देखि २८ गतेसम्म ‘गेट वे टु एभरेष्ट’ नाराका साथ आयोजना हुने यो तीन दिने कार्यक्रममा हमाल र कोइरालाका अलावा क्याप्टेन विजय लामा, गायिका आनी छोइङ डोल्मा, हास्य कलाकार सन्दीप क्षेत्री र राजा राजेन्द्र, बीबीसी मास्टरसेफ सन्तोष शाह, फिल्म निर्देशक रामबाबु गुरुङ र मीन भाम, नाट्यकर्मी अनुप बराल, कवि विप्लव प्रतीक र डन डिरेक्टर अमन प्रताप अधिकारी जस्ता व्यक्तित्वहरूको पनि सहभागिता रहनेछ।

यस्तै, कार्यक्रमको दोस्रो दिन रुम्झाटारमा विशेष कन्सर्ट आयोजना गरिनेछ । यस कन्सर्टमा स्थानीय कला संस्कृति झल्काउने प्रस्तुतिहरूसँगै वरिष्ठ गायक दीप श्रेष्ठ, प्रेमराजा महत, राजु लामा, सुनिता दुलाल, बिमलराज क्षेत्री र आस्था रावत जस्ता लोकप्रिय कलाकारहरूको सांगीतिक प्रस्तुति रहनेछ।

कार्यक्रमको सञ्चालन विवेक खतिवडाले गर्नेछन् ।

यस पटकको ‘गेट वे टु एभरेष्ट’ ले सगरमाथा क्षेत्र नजिकका यी रमणीय स्थलहरूको पर्यटन विकासमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ। यसअघि स्पार्क कारले पहिलो संस्करणमा २०२२ मा लमजुङको भुजुङमा भीरमौरीको मह शिकारलाई प्रवर्द्धन गरेको थियो भने दोस्रो संस्करण २०२३ मा दोलखा र रामेछापको सिमानामा रहेको शैलुङको पर्यटनलाई ‘वाइल्ड स्टे विथ चौँरी’ थिममा प्रवर्द्धन गरेको थियो।

Logo