निर्मल पौडेल पर्वत । पछिल्लो समय दशैँ, तिहारमा उत्साहकासाथ पिङ खेल्ने परम्परा हराउँदै गएको छ । पर्वत,बाग्लुङ लगायत साबिक धौलागिरीका जिल्लाहरुमा दशैँ र तिहारका बेला उत्साहका साथ खेलिने पिङ पछिल्लो समय देखिनै छाडेका छन्। पहिले यहाँका गाउँबस्तीमा जताततै देखिने पिङ अहिले लोपन्मुख अवस्थामा पुगेका हुन्।
पहिलेको जस्तो चाडपर्वको आगमनसँगै गाउँघरका चौतारा, चौरहरु रुखतिर पिङ हालिने परम्परा पछिल्लो समय विस्तारै हराउँदै गएको हो । दसैँको बेला धर्ती छाड्नुपर्छ भन्ने मान्यताका आधारमा गाउँघरमा एकपटक भए पनि स्थानीयले पिङ हालेर रमाइलो गर्ने गर्दथे तर पछिल्लो समय यो परम्परा हराउँदै गएको पर्वतको फलेवास नगरपालिका ७ का संस्कृती विज्ञ भुवानी प्रसाद पौडेलले बताए ।
दसैँ, तिहार जस्ता चाडपर्वमा गाउँ शहर जताततै पिङ हालिन्थ्यो, आ आफ्ना साथीभाइ, दौँतरीसँग भेला भएर चचहुइई गर्दै पिङमा मच्चिएर रमाइलो गर्ने गरिन्थ्यो तर पछिल्लो समय परम्परा हराएको पौडेलको भनाइ छ । नयाँ आधुनिक सुबिधामा मानिसहरु तानिएको हुँदा पिङ हाल्ने प्रवृति हराएको उनको बुझाई छ । पहिले चौतारीमा रोटे पिङ हालिन्थ्यो,गाउँका सबै दाजुभाई एक ठाउँ भएर रमाईलो गरिन्थ्यो तर अहिले लिङ्गे पिङ सम्म हाल्न छाडे । पौडेलले भने,
दसैँ तिहारमा पिङ खेल्ने संस्कृति अहिलेका नयाँ पुस्ताले बिर्सदै गएको प्रति बुढापाखाले चिन्ता समेत व्यक्त गरेका छन । पर्वत लगायत साविक धौलागिरीमै पहिले तामझामका साथ रमाइलो गरेर खेलिने पिङ पछिल्लो समय लोपन्मुख अवस्थामा पुगेको हो ।
चाडबाडको सम्झना दिने,गाउँघरमा थप रमझम बढाउने यस्ता परम्परालाई नयाँ पुस्ताले पनि निरन्तरता दिनु पर्ने कुरामा बुढापाकाले जोड दिएका छन्। पुराना संस्कृतिलाई नयाँ पुस्ताले पनि अनुशरण गर्न आवश्यक रहेको बाग्लुङको जैमिनी नगरपालिका ८ छिस्तीका गोविन्द सुवेदीको भनाई छ ।
दशैँमा पिङ हाल्नकै लागि दशैँ सुरु हुनुभन्दा पहिले खरबारी र बारीका कान्लाहरुमा हुने बाबियो काटेर सुकाउने र दशैँ लागे संगै सबै जम्मा भएर लठ्ठो बाटी पिङ हालिन्थ्यो तर अहिले त्यो कुरा नयाँ पुस्ताले कहानी जस्तो मान्छन् सुवेदीले बताए ।
पिङको लागी बाबियो काटेर लठ्ठो बाटी वरपर चार वटा बाँसको लिङ्गा गाडेर बनाईन्थ्यो, चौतारीहरुका रुखको हाँगामा वरपर बाँधेर पनि पिङ हालिन्थ्यो तर अहिले लठ्ठो किन्न बजारमा पाए पनि पिङ हाल्न युवाहरु सक्रिय नहुँदा कार्तिकमा भूई छाड्न समेत नपाएको याग्दीको वेनी नगरपालिका ६ अर्थुङ्गेका संस्कृती विज्ञ धु्रबलाल पौडेल बताउँछन् ।
दशैँमा मावली माईती ससुराली जानेहरु उत्तिकै हुन्थे । नयाँ प्रविधिका कारण दसैँ र तिहारमा निर्माण गरेर खेलिने पिङको प्रचलन बिस्तारै हराउँदै गएको पौडेलको भनाई छ ।
यस्तै साविक धौलागिरीमा दशै तिहारमा खेलिने पिङ, विभिन्न मेलामहोत्सव,देवी लिला लगायतका परम्परा विस्तारै लोप हुँदै गएको पर्वतको फलेवास नगरपालिका ५ खानीगाउँका ढाकाराम सुवेदी बताउछन् । यसरी पुराना परम्परा लोप हुँदै जाँदा स्थानीय संस्कृतिको जगेर्ना तथा सम्बद्र्धनमा असर पर्दै गएको छ ।
परम्परागत ज्ञान, सिप र प्रविधिमा आधारित रहेर बनाइने पिङको सिप नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्दा पनि पिङ हाल्ने दाजुभाई जम्मा भएर चौताराहरुमा रमाईलो गर्ने परम्परा लोपन्मुख अवस्थामा पुगेको हो । अहिलेको पुस्ता जुवातास र मदिरा सेवनमा बढि रुची देखाउने कारण पनि अन्य सामुहिक कुराहरु लोप हुँदै गएको मुस्ताङका शुशिल बाबु थकालीको भनाई छ ।





























प्रतिक्रिया