काठमाडौँ। काठमाडौँ महानगरपालिका–२९ स्थित घट्टेकुलो चोकमा डेरामा बस्नेको सहजताका लागि दुर्गा स्थापना गरेर घटस्थापनासहित सामूहिक पूजा आराधना भइरहेको छ । जय जनता ट्रेनिङ वेलफेयर काउन्सिलले गत वर्षदेखि घट्टेकुलो चोकमा दुर्गाको अस्थायी मूर्ति स्थापना गरेर पूजा, आराधना गर्न थालेको हो ।
काउन्सिलका अध्यक्ष सुनिलराज भण्डारीले विभिन्न जिल्लाबाट काठमाडौँ आएर डेरामा बस्नेलाई दुर्गा देवीको पूजा आराधनाका लागि सहजता होस् भन्ने उद्देश्यले दुर्गा स्थापनासहित पूजा, आराधनाको व्यवस्था गरिएको बताउनुभयो । डेरामा बस्नेले सबै व्यवस्था गर्न असहज हुने भएकाले चोकमा दुर्गाको आराधना सुरु गरिएको उनले उल्लेख गरे।
डेढ दशकदेखि यहाँ फलफूल पसल सञ्चालन गरिरहनुभएका दोलखाका रविप्रसाद काफ्लेले पुख्र्यौली थातथलो फर्कन नसक्नेका लागि यसले सहयोग पु¥याउने बताए। काठमाडौँको मुख्य बजारको चोकमा यसरी दुर्गा पूजा हुने पहिलो स्थान बनेको आफूले देखेको उनको भनाइ छ ।
कुपण्डोल र पशुपति क्षेत्रलगायत स्थानमा यसरी नै चोकमा दुर्गा स्थापना गरेर पूजा, आराधना गर्ने र स्थानीयलाई सहजीकरण गर्ने काम भइरहेको काउन्सिलका सचिव सुबोधचन्द्र साहले जानकारी दिए । बहालमा बस्ने सबैकामा दुर्गा पूजा गर्ने स्थान नहुने भएकाले यसले सबैलाई चाडपर्व मनाउन सहयोग गर्ने उनको भनाइ छ ।
चोकमा पूजा, आराधना गर्न आउनेको घुइँचो देखिन्छ । देवी भजन र स्तोत्रसँगै बेला बेलामा गुञ्जने मालश्री धुनले शरद् ऋतुमा पर्ने आनन्दमय दसैँको अनुभूति दिलाउँछ । स्थानीय मिथिला मानन्धरले दुर्गा उपासना सामूहिक रूपमा गर्न पाउँदा सहरी वातावरणमा एक्लिने समस्याबाट मुक्त भई सामाजिक र सांस्कृतिक परम्परा आदानप्रदान हुनुका साथै सबैसँग घुलमिल हुने वातावरण बनेको धारणा राखे।





























प्रतिक्रिया