काठमाडौँ । सरकारले प्रतिबन्ध लगाएको कुवेतमा घरेलु कामदार पठाउने धन्दा पर्यटक भिसाको आवरणमा अझै रोकिएको छैन। ओमनको भिजिट भिसा देखाएर नेपाली महिलालाई कुवेत पु-याउने संगठित गिरोह सक्रिय रहेको तथ्य खुलेको छ।
अध्यागमन स्रोतका अनुसार बिचौलियाहरूले ‘घुम्न जाने’ कागजात तयार पारेर महिलालाई कुवेतमा घरेलु काममा लगाउने गरेका छन्। सरकारले २०७३ सालदेखि कुवेतमा घरेलु कामदार पठाउन रोक लगाए पनि मानव तस्करहरूले भिसा दुरुपयोग गरेर यो धन्दा चलाइरहेका छन्।
डिसेम्बर ५ मा एक महिला ओमनको पर्यटक भिसा पेस गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिइन्। अध्यागमन रेकर्डमा उनको गन्तव्य ओमन देखिए पनि उनी हिमालय एयरलाइन्सको सीधा उडानमार्फत कुवेत पुगेको खुलेको छ। अध्यागमन अधिकृतहरूका अनुसार ती महिलाले काठमाडौँमा कुवेतको भिसा देखाइनन्, तर कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा मात्र प्रस्तुत गरिन्।
“कागजात सबै ओमनकै देखिएपछि त्यहीँ जानुपर्ने हो, तर उनी कुवेत पुगिन्,” एक अध्यागमन अधिकारीले बताए, “कुवेतको अर्को भिसा लुकाएर प्रयोग गरिएको हुन सक्छ।”
मानव बेचबिखन अनुसन्धान ब्युरोको अनुसन्धानले कुवेत पुगेका महिलाहरू घरेलु कामको नाममा श्रम र यौन शोषणमा पर्ने गरेको देखाएको छ। यही कारण कुवेत सरकारले पनि भिजिट भिसामा जाने नेपालीमाथि थप कडाइ गर्दै आएको छ।
अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले सरकारको निर्णय विपरीत महिलालाई घरेलु काममा पठाएको पाइए कडा कारबाही हुने स्पष्ट पारे। “कुवेतमा घरेलु कामदार पठाउने कार्य गैरकानुनी हो। यसमा संलग्न जो कोहीलाई छानबिन गरेर कारबाही गरिन्छ,” उनले भने।
चीनतर्फ पनि तस्करीको जालो
अधिकारीहरूका अनुसार गिरोहको गतिविधि कुवेतमै सीमित छैन। पछिल्लो समय ओमनको भिसा प्रयोग गरेर महिलालाई चीनसम्म तस्करी गर्ने प्रयाससमेत देखिएको छ। चीनमा बच्चा जन्माउन लगाएर कमिसन असुल्ने समूह सक्रिय रहेको विमानस्थल सुरक्षा निकायको दाबी छ।
यसै सन्दर्भमा काठमाडौँमा ‘म्यारिज ब्युरो’ सञ्चालन गरी नेपाली युवतीलाई चिनियाँसँग विवाह गराउने आरोपमा कात्तिक २९ गते चार जना चिनियाँ नागरिक पक्राउ परेका थिए। अध्यागमन विभागका अनुसार उनीहरूले आर्थिक रूपमा कमजोर महिलालाई लक्षित गरेर तस्करीको जाल बुनिरहेका थिए।
भिजिट भिसा मापदण्ड परिमार्जन
भिजिट र पर्यटक भिसामा ‘सेटिङ’ गरेर रकम असुलिने क्रम बढेपछि गृह मन्त्रालयले विवादित ६ बुँदे मापदण्ड खारेज गर्दै नयाँ व्यवस्था लागू गरेको छ। नयाँ मापदण्ड कात्तिक १३ गतेदेखि कार्यान्वयनमा आएको हो।
नयाँ व्यवस्थाअनुसार कम्तीमा ६ महिना वैध राहदानी, गन्तव्य देशको भिसा (वा अन अराइभल भिसा सुविधा), गन्तव्यसम्मको हवाई टिकट र स्वघोषणा फारम भए भिजिट भिसामा विदेश जान पाइनेछ ।
अध्यागमन विभागले भने अघिल्लो ६ बुँदे मापदण्डकै कमजोरीका कारण बिचौलियाहरूले चलखेल गर्दै मानव तस्करीको धन्दा फस्टाएको हुनसक्ने जनाएको छ । । अब नयाँ मापदण्डले त्यो जाल तोड्ने अपेक्षा गरिएको छ ।





























प्रतिक्रिया