काठमाण्डौँ । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को “एक्प्लोर द ट्रयाक” कार्यक्रम अन्तर्गत नेपाली राइडरहरूको टोली मद्रास इन्टरनेसनल रेसिङ सर्किटमा पुगेको छ। धुलिखेल रोड रेसिङ च्याम्पियनसिपका विजेता र उत्कृष्ट ११ राइडर र दुई अफिसियल सहितको टोली जनवरी ८–११ सम्म ओरिन्टेसन, प्राक्टिस र फाइनल रेसमा सहभागी हुनेछ ।
टोलीमा श्रीहरि पौडेल, राजकुमार कार्की, दिलिप दनुवार, सायल गजमेर, प्रशान्त सुतीहार, साइमन चौलागाई, अभिनव राज मल्ल, दिपेश जैसवाल, अभि रिसाल, वर्षा बस्नेत र नीतिका गजुरेल रहेका छन्। टीम व्यवस्थापन मोटर स्पोट्र्स नेपाल क्लबले गर्दैछ भने बागमती प्रदेश अटोमोबाइल एसोसिएसनकी मिना थापा अफिसियलको रूपमा सहभागी छिन्।
एमएमएससी नेपाल टीभीएस रेसिङ इभेन्ट अन्तर्राष्ट्रिय मोटरसाइकल फेडेरेसन (एफआईएम) र मद्रास मोटर स्पोट्र्स क्लबको प्राविधिक र आर्थिक सहयोगमा आयोजना भइरहेको छ। नेपाली राइडरहरूले रेसिङ, सुरक्षा र प्राविधिक ज्ञानसँगै आफ्नो क्षमता प्रदर्शन गर्नेछन्।
नासा नेपालका अनुसार, केही वर्षअघिबाट सुरु गरिएको “एक्प्लोर द ट्रयाक” कार्यक्रमले नेपाली खेलाडीको आत्मविश्वास, प्राविधिक दक्षता र अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अनुभवमा ठूलो योगदान पु¥याउँदै आएको छ । नेपालमा अझै अन्तर्राष्ट्रिय स्तरको ट्रयाक नहुँदा पनि चेन्नईको कार्यक्रमलाई राष्ट्रिय प्रतियोगिताको मान्यता दिइएको छ ।
गत अक्टोबरमा थाइल्याण्डको चिङ्गमाइमा सम्पन्न एफआईए एशिया प्यासिफिक कांग्रेसमा नेपाली राइडरहरूको चेन्नईमा प्रशिक्षण र प्रतिस्पर्धा सुनिश्चित गर्न सहमति भएको थियो। यस इभेन्टको नतिजा आइतबार सार्वजनिक हुनेछ ।





























प्रतिक्रिया