बैतडी। बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा १३ जनाको ज्यान गएको छ भने ३० जना घाइते भएका छन् । बैतडीको पुर्चौँडी नगरपालिका–७ भवनेबाट बेहुली लिएर बझाङको सुनकुडातर्फ जाँदै गरेको पवनदूत यातायातको सुप प्र ०२–००१ ख १११९ नम्बरको बस पुर्चौँडी–७ बडगाउँ मोडमा गएराति करिब ८ बजे दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार दुर्घटनामा एक महिला र १२ पुरुष गरी १३ जनाको मृत्यु भएको छ । मृतकहरूको सनाखत प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानअनुसार उकालो सडकमा अत्यधिक भारका कारण बस दुर्घटनामा परेको हुन सक्ने अनुमान गरिएको छ ।
दुर्घटनामा परेर घाइते भएका ३५ जनालाई उद्धार गरी डडेल्धुरा अस्पताल पु¥याइएको थियो । उपचारका क्रममा थप पाँच जनाको मृत्यु भएपछि मृतकको संख्या १३ पुगेको हो । गम्भीर अवस्थामा रहेका तीन जनालाई थप उपचारका लागि धनगढी रिफर गरिएको छ भने २७ जनाको डडेल्धुरा अस्पता लमा उपचार जारी रहेको अस्पतालले जनाएको छ ।
दुर्घटनापछि घाइतेहरूको स्वास्थ्य अवस्था बुझ्न सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र बहादुर पाल राति १२ बजे धनगढीबाट डडेल्धुरा पुगेर अस्पताल निरीक्षण गरेका छन् । उनले घाइतेहरूको उपचार, व्यवस्थापन तथा आवश्यक समन्वयबारे अस्पताल प्रशासनसँग छलफल गरेका छन् ।
प्रदेश सरकारले घाइतेहरूको सम्पूर्ण उपचार निःशुल्क गर्ने विषयमा पहल गरिरहेको जनाउँदै मन्त्री पालले भोलिको मन्त्रिपरिषद् बैठकबाट उक्त प्रस्ताव पास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यसैबीच, नेकपा एमालेका केन्द्रीय सदस्य तथा बझाङ इन्चार्ज ऐन महरको नेतृत्वमा रहेको टोली पनि राति करिब २ बजे डडेल्धुरा अस्पताल पुगेर घाइतेहरूलाई भेटी शान्तना दिँदै शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
दुर्घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरिएको छ ।





























प्रतिक्रिया