बागमती नदीको कटानले टौदह र आसपासका बस्ती जोखिममा

बागमती नदीको कटानले टौदह र आसपासका बस्ती जोखिममा

केन्द्रबिन्दु
39
Shares

कीर्तिपुर। बागमती नदीले धार परिवर्तन गर्दै पश्चिमतर्फ कटान बढाएपछि कीर्तिपुर नगरपालिका–६ मा रहेको टौदह र आसपासका बस्ती जोखिममा परेका छन्।

बागमती नदी टौदहको पूर्वतर्फ सतहभन्दा तलबाट बग्ने गर्छ। तर पछिल्लो दुई वर्षदेखि नदीले धार परिवर्तन गरी पश्चिमी किनार र टौदह मुनिको माटो कटान गर्न थालेको छ। कटान सुरु भएपछि टौदहमा रहेको पानी पूर्वतर्फको ओरालो भागमा चुहिन थालेको छ।

केही वर्षअघिसम्म नदी किनारमा रहेका चौर र बाटो कटानमा परिसकेका छन्। अहिले टौदहको पूर्व र दक्षिण क्षेत्रमा बसोबास गर्दै आएका करिब ८० घरधुरी प्रत्यक्ष जोखिममा छन्।

स्थानीय मिलन खड्काले समयमै संरक्षण नगरे टौदहको अस्तित्व नै संकटमा पर्ने बताए । उनले भने, “टौदहको पूर्वतर्फका कान्लाहरूमा पानी चुहिन थालेको छ, समयमै केही नगर्ने हो भने टौदहको अस्तित्व नै सङ्कटमा पर्ने देखिन्छ।”

स्थानीयका अनुसार नदीको पारीपट्टि ललितपुर महानगरपालिकाले संरक्षण पर्खाल लगाएपछि बागमतीले पश्चिम किनारमा बढी कटान गरिरहेको छ। साथै, कीर्तिपुर–४ स्थित दूधपोखरी क्षेत्रबाट आउने खहरे खोलाले पनि कटान बढाएको छ।

स्थानीय अञ्जिल खड्काले संरक्षणको काम एकतर्फी हुँदा समस्या बढेको बताए। उनले भने, “दक्षिणतर्फ दक्षिणकाली नगरपालिकाले संरक्षण पर्खाल लगाएको छ, तर कीर्तिपुर नगरपालिकातर्फबाट त्यसको पहल नभएकाले कटान रोकिएको छैन।”

टौदह र आसपासका बस्ती जोगाउन विभिन्न निकायले तटबन्ध र टेवा पर्खाल निर्माणका लागि बजेट छुट्याएका छन्। तर बागमती नदीको स्पष्ट सीमाङ्कन नभएकाले काम सुरु हुन सकेको छैन।

स्थानीय खड्काले सीमाङ्कनको अभावले संरक्षण योजना अन्योलमा परेको बताए। उनले भने, “पटक–पटक बागमती सभ्यतासँग सीमाङ्कन गरिदिन आग्रह गरेका छौँ, तर आजसम्म भएको छैन। सीमाङ्कन नभएका कारण निर्माण कार्य सुरु हुन सकेको छैन।”

Logo