महाशिवरात्रिमा पशुपति क्षेत्रमा भीडभाड रोक्न विशेष ट्राफिक योजना लागू

महाशिवरात्रिमा पशुपति क्षेत्रमा भीडभाड रोक्न विशेष ट्राफिक योजना लागू

केन्द्रबिन्दु
36
Shares

काठमाडौं। महाशिवरात्रि पर्वका अवसरमा पशुपति लगायतका शिवालयहरुमा हुनसक्ने सम्भावित भिडभाड रोक्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विशेष ट्राफिक योजना अपनाएको छ । अनावश्यक भिडभाड हुँदाको अवस्थालाई मध्यनजर गर्दै सवारी आवागमन रुट तय गरी पार्किङको स्थान तोकेर प्रहरीले विशेष सुरक्षा रणनीति अपनाएको हो ।

पशुपतिनाथ क्षेत्रमा हुने भिडभाडलाई सुरक्षित एवं व्यवस्थित गर्न कार्यालयले अपनाएको सुरक्षा रणनीति लागू समेत गरेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले पशुपति क्षेत्रमा पूजाआजा गर्न आउने भक्तजन एवं दर्शनार्थीलाई सहज रूपमा आवतजावत तथा दर्शन गर्ने वातावरण मिलाउन ट्राफिक व्यवस्थापनलाई चुस्त र दुरुस्त बनाएको केन्द्रविन्दुलाई बताए ।

सुवेदीले दिएका जानकारी अनुसार निश्चित ठाउँमा पार्किङको व्यवस्थासहित रुट पनि तोकिएको छ । उनले सिफल चौरमा दर्शानार्थीको सवारी, पासवाहक सवारीसाधन, सुरक्षाकर्मीका सवारीसाधनलाई पार्किङको व्यवस्था मिलाइएको बताए। गुह्येश्वरीपारि तीर्थयात्री, दर्शानार्थीका सवारीसाधन, पशुपति विकास कोषको कार्यालय÷भण्डारखालमा पासवाहक सवारीसाधन, तिलगंगा आँखा अस्पताल र कोरिडोरमा तीर्थयात्री, दर्शानार्थी र पर्यटकका सवारीसाधनलाई पार्किङको विशेष व्यवस्था गरिएको उनको भनाई छ ।

त्यस्तै, वनकाली क्षेत्रमा शिविर सञ्चालन गर्ने संघसंस्था, दमकल, एम्बुलेन्स, खानेपानी र सुरक्षाकर्मीका सवारीसाधन, प्रहरी वृत्त गौशालामा पासवाहक सवारीसाधन र सरकारी सवारीसाधन राख्ने व्यवस्था मिलाइएको छ।
विभिन्न नाका भई भित्रिने भक्तजनका सवारीसाधन छुट्टाछुट्टै स्थानमा पार्किङको प्रबन्ध मिलाइएको उनले बताए । उनका अनुसार अन्य जिल्लाबाट आउने भक्तजनको सुविधाका लागि निर्वाध आवतजावतको व्यवस्था मिलाउनुका साथै पार्किङ गर्ने ठाउँसमेत तोकिएको छ ।

गौशाला चोकमा भिडभाड धेरै भई सवारी चल्न नसक्ने अवस्था भएमा चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर मैतिदेवीको मोडबाट रातो पुलहुँदै गौशालातर्फ, सिफल चौरबाट जय बागेश्वरीतर्फको रुटमा चल्ने सवारीलाई वैकल्पिक मार्ग भई सञ्चालनको व्यवस्था मिलाइने प्रहरी उपरीक्षक सुवेदीले बताए ।

दर्शनार्थीको घुइँचोका कारण गौशाला क्षेत्र भई चक्रपथ क्षेत्रमा सञ्चालन हुने सवारीसाधन नियमित चलाउन नसक्ने अवस्था आएमा मात्रै गौशाला क्षेत्रमा सवारी आवागमन निषेध गरी वैकल्पिक मार्गको प्रयोग गरी सहज आवागमनको व्यवस्थापन गरिने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । त्यसका लागि कोरिडोर सडक र भित्री सडकमा बाक्लो मात्रामा ट्राफिक प्रहरी खटाइएको प्रवक्ता सुवेदीले उल्लेख गरे।

चाबहिल, गौशाला, तिलगङ्गा क्षेत्रमा निर्बाध रूपमा सवारीसाधन चलाउने व्यवस्था मिलाइएको छ तर भक्तजनको भिडभाड अत्यधिक भई सवारी आवागमनमा समस्या हुने अवस्था भएको खण्डमा डाइभर्सन गरी वैकल्पिक मार्गबाट सवारीसाधन सञ्चालनको व्यवस्था मिलाइने पनि सुरक्षा योजनामा उल्लेख छ ।

तीनकुनेबाट सिनामंगलतर्फ, बौद्ध एरियाबाट गौरीघाटतर्फ, पुरानो बानेश्वर, गौशाला र मित्रपार्कतर्फ आउने सम्पूर्ण मालवाहक सवारीसाधनहरुलाई आवश्यकताअनुसार निषेध गरिएको सुवेदीले जानकारी दिए । उनका अनुसार बागमती कोरिडोर र जोरपाटीबाट चाबहिलहुँदै आउने सवारीसाधनलाई गुह्येश्वरीपारि पार्किङ स्थान तोकिएको छ ।

Skip This
Skip This
Logo