काठमाडौँ । केन्द्रबिन्दु मिडिया प्रा.लि.ले ‘जेन जेड रेड फोर्स’की संयोजक स्मृति तिमल्सिनाको पक्राउ र उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियोमा आफ्नो संस्थाको नाम जोडिएको प्रति गम्भीर आपत्ति प्रकट गरेको छ।
विभिन्न सञ्चारमाध्यम र फेसबुकमा तिमल्सिनाले आफूलाई केन्द्रबिन्दु टेलिभिजनमा अन्तर्वार्ताका लागि बोलाइएको र सोही बहानामा प्रहरीले नियन्त्रणमा लिएको भनी दिएको अभिव्यक्तिप्रति संस्थाको ध्यानाकर्षण भएको हो। तिमल्सिनाले आफूलाई कार्यालयमा बोलाएर स्टुडियो व्यस्त भएको भन्दै अर्को स्थानमा लैजान खोजिएको र सादा पोसाकका प्रहरीले गाडीमा हालेर उपत्यका प्रहरी परिसर भद्रकाली पुर्याएको दाबी गरेकी थिइन्।
तर, केन्द्रबिन्दु डटकमका प्रधानसम्पादक विदुर खतिवडाले एक विज्ञप्ति जारी गर्दै तिमल्सिनाको उक्त दाबीलाई पूर्ण रूपमा खण्डन गरेका छन्। विज्ञप्तिमा भनिएको छ, “केन्द्रबिन्दु मिडियाले स्मृति तिमल्सिनालाई कुनै पनि अन्तर्वार्ताका लागि समय दिएको वा बोलाएको छैन। हाम्रो कार्यालयको सेड्युलमा त्यस्तो कुनै कार्यक्रम नरहेको व्यहोरा अवगत गराउँदछौँ।”
संस्थाले एक जिम्मेवार सञ्चार गृहलाई विवादमा तान्ने र सुरक्षा निकायको कारबाहीसँग जोडेर भ्रम सिर्जना नगर्न सम्बद्ध पक्षसँग आग्रह गरेको छ। स्वतन्त्र र मर्यादित पत्रकारिता गर्दै आएको उल्लेख गर्दै केन्द्रबिन्दुले आफ्नो व्यावसायिक प्रतिष्ठामा आँच पुर्याउने यस्ता भ्रमपूर्ण समाचारबाट सचेत रहन पाठकहरूलाई अनुरोध समेत गरेको छ।































प्रतिक्रिया