काठमाडाैं । नेपाली स्वास्थ्य उद्योगको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको फोर्चुना हेल्थकेयरले आफ्नो वार्षिकोत्सव आफ्नै कारखानामा विशेष कार्यक्रमका साथ मनाएको छ। उक्त अवसरमा कम्पनीका कर्मचारीहरूको सहभागिता रहेको थियो भने कारखाना परिसरमै क्यालेन्डर विमोचन कार्यक्रम समेत आयोजना गरिएको थियो।
कार्यक्रममा कम्पनीका पदाधिकारी, प्राविधिक टोली तथा कर्मचारीहरूबीच आपसी सहकार्य, समर्पण र आगामी लक्ष्यहरूबारे सकारात्मक छलफल भएको थियो। यस अवसरले फोर्चुना हेल्थकेयरको उत्पादन क्षमताको निरन्तर विकास र संस्थागत एकताको भावना अझ मजबुत बनाएको छ।
फोर्चुना हेल्थकेयरले सिरिन्ज लगायत विभिन्न प्रकारका अत्याधुनिक मेडिकल डिभाइसहरू स्वदेशमै उत्पादन गर्दै आएको छ। अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप गुणस्तरीय उत्पादन प्रदान गर्दै कम्पनीले नेपाली स्वास्थ्य क्षेत्रमा आत्मनिर्भरता अभिवृद्धि गर्ने दिशामा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
कम्पनीका अध्यक्ष ईश्वर जि.सी. ले कार्यक्रममा मन्तव्य व्यक्त गर्दै भने, “हामीले यो कारखानामार्फत नेपालमै उच्चस्तरीय मेडिकल उपकरण उत्पादन सम्भव छ भन्ने सशक्त सन्देश दिन सफल भएका छौं। हाम्रो लक्ष्य केवल उत्पादन गर्नु मात्र नभई गुणस्तर, विश्वास र नवप्रवर्तनमार्फत देशभर स्वास्थ्य सेवामा सकारात्मक परिवर्तन ल्याउनु हो।”
उनका अनुसार फोर्चुना हेल्थकेयरका उत्पादनहरू हाल नेपालका सबै जिल्लामा उपलब्ध भइसकेका छन् ।
फोर्चुना हेल्थकेयरले आगामी दिनहरूमा थप आधुनिक प्रविधि भित्र्याउँदै उत्पादन क्षमतालाई विस्तार गर्ने, नयाँ–नयाँ मेडिकल उपकरणहरू विकास गर्ने तथा अन्तर्राष्ट्रिय बजारमा समेत आफ्नो उपस्थिति विस्तार गर्ने दीर्घकालीन योजना बनाएको जनाएको छ।
कार्यक्रमको अन्त्यमा कम्पनीले सम्पूर्ण कर्मचारीहरूलाई उनीहरूको योगदानप्रति धन्यवाद ज्ञापन गर्दै आगामी वर्षहरूमा अझ उत्कृष्ट उपलब्धिहरू हासिल गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।





























प्रतिक्रिया