काठमाडौं । समर्थगुरु संघ नेपालले योग तथा प्रज्ञाका कार्यक्रमहरूलाई निरन्तरता दिँदै रिलायन्स एकेडेमीका ३५ बढी कर्मचारीहरूका लागि एकदिने ध्यान शिविर सफलतापूर्वक सम्पन्न गरेको छ।
आजको तीव्र गतिशील जीवनशैली र बढ्दो मानसिक तनावलाई मध्यनजर गर्दै आयोजित उक्त शिविरमा ध्यानको वास्तविक अर्थ, आवश्यकता तथा प्रयोगबारे गहन अन्तरक्रिया गरिएको थियो।
कार्यक्रममा “ध्यान के हो?” भन्ने विषयमा स्पष्ट पार्दै भनियो— आँखा बन्द गर्दा भित्र देखिने निराकार शून्यताप्रति जागरूक भई प्रेमपूर्वक अवलोकन गर्नु नै ध्यान हो। ध्यान कुनै कल्पना नभई साक्षीभावमा रहने अवस्था हो, जसले व्यक्तिलाई गहिरो शान्ति र आत्मबोधतर्फ लैजान्छ।
शिविरमा ध्यानका प्रमुख लाभहरू तनावबाट मुक्ति, विचारहरूको शान्ति, गहिरो विश्राम, आन्तरिक शान्ति, प्रज्ञा र विवेकको विकास, आत्मबल र अकारण आनन्द—बारे जानकारी गराइएको थियो।

साथै, ध्यान अभ्यास गर्नुअघि यसको सही समझ आवश्यक रहेको बताउँदै ओशोका अत्यन्त प्रभावकारी ध्यान विधिहरू— कुण्डलिनी ध्यान र ब्रह्मनाद नाद ध्यानबारे पनि परिचय दिइएको थियो। यी विधिहरूले शरीर, मन र चेतनालाई सन्तुलनमा ल्याउन सहयोग गर्ने उल्लेख गरिएको थियो।
संघकी कार्यकारी सचिव पी.एस. राजुली भुवनेश्वरी पराजुलीको पहलमा सम्पन्न कार्यक्रममा आचार्य मञ्जु शर्मा तथा आचार्य डा. गोपाल भट्टले ध्यानसम्बन्धी अन्तरक्रिया तथा अभ्यास सत्र सञ्चालन गरेका थिए । कार्यक्रम उत्साहजनक सहभागितासहित सफलतापूर्वक सम्पन्न भएको संघले जनाएको छ।

यस अवसरमा सहभागीहरूले यस्ता कार्यक्रमहरूलाई संस्थागत रूपमा अगाडि बढाउन विशेष रुचि देखाएका छन्।
यसैबीच, समर्थगुरु संघ नेपालले आगामी वैशाख १२ देखि १४ सम्म आयोजना गर्न लागेको “सिद्धार्थ ध्यान योग” मा सहभागी हुन सबैलाई आह्वान पनि गरेको छ।





























प्रतिक्रिया