म्याग्दी। म्याग्दीको सदरमुकाम बेनीमा निर्माण गर्ने भनिएको शान्ति पार्क योजना तीन वर्षदेखि अन्योलमै परेको छ। पार्क निर्माण गर्ने स्थान टुङ्गो नलाग्दा हरेक वर्ष बजेट छुट्याइए पनि कार्यान्वयन हुन सकेको छैन।
बेनी नगरपालिकाले करिब रु १० करोड लागत अनुमानसहित विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिसकेको छ। मुस्ताङ आवतजावत गर्ने पर्यटकलाई आकर्षित गर्ने उद्देश्य राखिएको यो योजना कार्यान्वयनमा ढिलाइ हुँदा स्थानीयवासी निराश बनेका छन्।
गत आर्थिक वर्ष २०८१/८२ मा नगरपालिका र गण्डकी प्रदेश सरकारले रु २०–२० लाख बजेट छुट्याएका थिए भने चालु वर्षमा नगरपालिकाले रु २५ लाख विनियोजन गरेको छ। तर निर्माणस्थल तय नहुँदा खर्च हुन सकेको छैन।
नगरपालिकाले सुरुआतमा वीरेन्द्रचोकस्थित रेडक्रस, वन डिभिजन नर्सरी र आवास क्षेत्र पछाडिको करिब १० रोपनी जग्गामा पार्क बनाउने प्रस्ताव अघि सारेको थियो। तर उक्त क्षेत्र बराहपाखो सामुदायिक वनअन्तर्गत पर्ने भएकाले वन क्षेत्रमा काम गर्न हिचकिचाहट हुँदा योजना अघि बढ्न सकेको छैन।
वैकल्पिक रूपमा महारानी थानस्थित सार्वजनिक जग्गामा पहिले नै बनेका पूर्वाधारलाई व्यवस्थित गरी पार्क सञ्चालन गर्न सकिने विकल्पसमेत अघि सारिएको छ। त्यहाँ पोखरी, चौतारी लगायतका आधारभूत संरचना तयार भइसकेका छन्।
शान्ति पार्क निर्माणको अवधारणा २०६० सालमै अघि सारिएको थियो, जसमा बेनी भिडन्तसँग सम्बन्धित सामग्री राख्ने योजना पनि समावेश छ। पछिल्ला तीन वर्षदेखि नगरपालिकाले यसलाई गौरव आयोजनाका रूपमा प्राथमिकतामा राखे पनि कार्यान्वयन हुन सकेको छैन।





























प्रतिक्रिया