व्यवसायीले गाडी चढ्दा प्रश्न उठ्छ, मन्त्रीको सम्पत्ति कसले जाँच्ने ?

व्यवसायीले गाडी चढ्दा प्रश्न उठ्छ, मन्त्रीको सम्पत्ति कसले जाँच्ने ?

केन्द्रबिन्दु
9
Shares

चितवन । उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका जिल्ला नगर उपाध्यक्ष कृष्णकुमार अग्रवालले व्यवसायीहरूलाई अनावश्यक रूपमा पक्राउ गर्ने र तर्साउने काम बन्द गर्न सरकारसँग आग्रह गरेका छन्।

चितवनको सौराहामा शनिबार आयोजित नेपाल मोबाइल व्यवसायी महासंघ बागमती प्रदेशको तेस्रो वार्षिक साधारणसभामा बोल्दै उनले पुस्तौंदेखि व्यवसाय गर्दै आएका व्यवसायीहरूलाई विनाकारण पक्राउ गरेर सिंगो व्यवसायी समुदायलाई डर देखाउने काम भइरहेको बताए।

उनले भने, “व्यवसाय गरेर गाडी चढ्दा त्यसको स्रोतबारे प्रश्न उठ्छ, तर मन्त्री र नेताहरूले चढेको गाडीबारे किन सोधिँदैन? उनीहरूको सम्पत्ति कहाँबाट आयो, त्यसको लेखाजोखा कसले गर्ने?”

अग्रवालले व्यवसायीलाई सोधपुछकै लागि हिरासतमा राख्नु आवश्यक नरहेको उल्लेख गर्दै बाहिरै राखेर पनि अनुसन्धान गर्न सकिने बताए। “भित्र लगेर सोधपुछ गर्दा व्यवसायीको मनोबल गिराउने काम भइरहेको छ,” उनले भने।

उनले वर्तमान सरकारसँग जनता र व्यवसायी दुवैको ठूलो अपेक्षा रहेको उल्लेख गर्दै गलत काम गर्नेहरूलाई कारबाही गर्नुपर्ने तर सिंगो व्यवसायी समुदायलाई लक्षित गरेर तर्साउने काम बन्द हुनुपर्नेमा जोड दिए।

साथै, उनले व्यवसायीहरूबीच आपसी अस्वस्थ प्रतिस्पर्धा र खुट्टा तान्ने प्रवृत्ति अन्त्य गर्न आग्रह गर्दै स्वस्थ प्रतिस्पर्धामार्फत व्यवसाय अघि बढाउनुपर्ने धारणा राखे।

Logo